हेटौंडामा पुस्पलाल श्रेष्ठको स्मृति दिवस मनाइयो, शालिक पनि अनावरण

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिब पुस्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवस आज हेटौंडामा मनाइएको छ । नेकपा एमाले मकवानपुरको आयोजनामा स्मृति दिवस मनाइएको हो । कार्यक्रमका अवसरमा पुस्पलाल पार्कमा स्थापना गरिएको पुस्पलाल श्रेष्ठको शालिक बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अनावरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले पुस्पलालका शिद्धान्तलाई आत्मसाथ गर्न आग्रह गर्नुभयो । अहिलेको अवस्थामा शिरमा पुगेको कम्युनिष्ट आन्दोलनलाई झाने काम भएकोमा दुख व्यक्त गर्नुभयो । पुस्पलाललेनै कम्युनिष्ट आन्दोलनलाई यो अवस्थामा ल्याएकोले यसलाई आत्मसाथ गर्नुपर्ने मुख्यमन्त्री पौडेलले वताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले अहिले कम्युनिष्टलाई सिध्याउने खेल भइरहेको वताउनुभयो । सामन्तवादका विरुद्धमा पुस्पलालले आन्दोलन गरेको उहाँले वताउनुभयो ।
नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका बागमती प्रदेशका संगठन विभाका प्रमुख अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा माओबादी मकवानपुरका नेता कमानसिह पाख्रिन, राप्रपा मकवानपुरका गुरुप्रसाद सापकोटा लगायतकाले मन्तव्य व्यक्त गर्नुभयो ।
नेपालमा कम्युनिष्ट पार्टी मार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीकाे स्थापना गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गर्नुभएको थियो । पुष्पलालले विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको हो । उहाँले स्थापना गर्नुभएको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् ।
उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभयो । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको थियो ।