हेटौंडाको बालबोध माविमा प्रबलीकरण सम्बन्धी दोस्रो चरणको डकर्मी तालिम सुरु

जनपत्र
६ श्रावण २०७८, बुधबार ०८:०१

हेटौंडा/ मकवानपुरको हेटौंडा–१७ स्थित बालबोध माविमा सञ्चालित विद्यालय प्रबलीकरण सम्बन्धी दोस्रो चरणको कार्यगत डकर्मी तालिम आजबाट सुरु भएको छ । तीन चरणमा सञ्चालित तालिम अन्तरगत दोस्रो चरणको तालिमको आज एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो ।

तालिमको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले भुकम्प प्रभावित १४ जिल्ला मध्ये मकवानपुरमा यस्तो प्रकारको तालिम प्राप्त गर्ने अवसर प्राप्त भएको बताउनुभयो । उहाँले प्राप्त अवसरलाई उपलब्धीमा बदल्न सुझाव दिनुहुँदै सिकेका सीप अन्त प्रयोग गर्ने गरी काम गर्न सुझाव दिनुभयो । दोस्रो चरणमा जिल्लाका विभिन्न स्थानी तहका ४० जना डकर्मीहरुको सहभागिता रहेको छ । यस अघि गत चैत्र १८ गते देखि जेष्ठ १२ गतेसम्म प्रथम चरणको ४० जना डकर्मीहरुको तालिम सम्पन्न भईसकेको छ । तीन चरणमा डकर्मी उत्पादन गर्ने तथा विद्यालय प्रबलीकरण सम्पन्न गर्ने गरी तालिम सञ्चालन भएको हो । भुकम्प प्रभावित १४ मध्ये तीन जिल्लामा मात्र यस्तो प्रकारको सीप प्रदान गरिएको हुँदा प्राप्त सीप र अवसरलाई उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले कोरोनाको असर कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै कार्य सम्पन्न गर्न सुझाव दिनुभयो ।

२०७२ सालको भूकम्पबाट प्रभावित १४ जिल्लामा क्षतिग्रस्त सामुदायिक विद्यालयहरूमा प्रबलीकरण गर्नुपर्ने विद्यालयको प्रबलीकरण गर्न र उक्त कार्यका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बद्री बहादुर पाठकले जानकारी दिनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (शिक्षा) मार्फत ठेक्का सम्झौता भई भुकम्प प्रभावित १४ मध्ये मकवानपुर, गोरखामा र काभ्रेमा एक÷एक वटा विद्यालयको प्रबलीकरण चलिरहेको उहाँले बताउनुभयो ।

मकवानपुरमा जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत बालबोध माविको दुईवटा ब्लकको ११ वटा कोठाको प्रबलीकरण भईरहेको पाठकले जानकारी दिनुभयो ।उक्त विद्यालयको प्रबलीकरण तथा प्रबलीकरण तालिम सञ्चालनका लागि कन्टेन्जेन्सी बाहेक कुल १ करोड ९१ लाख १३ हजार २८५ रुपैयाँ लागत रहेको छ । तीन चरणमा डकर्मीलाई प्रबलीकरण सम्बन्धी ५० दिने आवासीय तालिम प्रदान गर्नुका साथै सो अवधिमा उक्त विद्यालयको प्रबलीकरण सम्पन्न हुने बताईएको छ ।

पहिलो चरणमा विद्यालयको करीब ३५ प्रतिशत प्रबलीकरणको काम सम्पन्न भएको पाठकले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा १७ नम्बर वडा अध्यक्ष भैरब बहादुर राई, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का ईन्जिनीयर दिनेश यादव, विद्यालय प्रधानाध्यापक, व्यवस्थापन समितिका सदस्यहरू लगायात तालिमका सजहकर्ता एवम् ठेकेदार कम्पनीका प्रतिनिधिहरुको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*