वर्षाका कारण जमेको पानी खुलाउने क्रममा झडप, १० जनाभन्दा बढी घाइते

जनपत्र
६ श्रावण २०७८, बुधबार ०६:४५

वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका–३ को बस्तीमा जमेको पानी खोल्ने क्रममा मंगलबार झडप भएको छ।धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ र २ को बीचमा पर्ने ६ लेन सडकअन्तर्गतको पुलेसो हुँदै जमेको पानीको निकास खोल्ने क्रममा झडप भएको हो।

जमेको पानीको निकासका लागि प्रहरीले कल्भर्ट खोल्दा वडा नम्बर २ का बासिन्दाले विरोध जनाएका थिए। पानीको निकास खोल्ने क्रममा वडा नम्बर २ का बासिन्दाले प्रहरीमाथि ढुङ्गामुडा गरेका थिए। पानी खोल्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा १० जना भन्दा बढी घाइते भएका छन्। घाइते हुनेमा प्रहरी कर्मचारी रहेका छन्।

जमेको पानी निकास नहुँदा वडा नम्बर ३ स्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनसमेत डुबानमा परी विद्युत् आपूर्ति बन्द हुने र विद्युतीय उपकरणमा ठूलो क्षति पुग्ने देखिएकाले प्रहरीको पहलमा होचो भूभाग रहेको वडा नम्बर २ तर्फ जमेको पानी निकास गर्ने प्रयास गरिएको थियो। यसअघि सोमबार पनि प्रहरीले कल्भर्ट खोलेको थियो। तर, वडा नम्बर २ का वासिन्दाले आफ्नो क्षेत्र डुबानमा पर्ने भन्दै कल्भर्ट पुरिदिएका थिए।

केही दिनदेखि भइरहेको वर्षासँगै धनगढी–३ को कृषि हाटबजार, नेपाल विद्युत् प्राधिकरणको कार्यालय, विशालनगरलगायतका टोल आसपासमा ३ फिटसम्म पानी जमेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*