ओलीलाई पहिले संसदीय दल र त्यसपछि पार्टी अध्यक्षबाट हटाउने नेपाल पक्षको तयारी

जनपत्र
६ श्रावण २०७८, बुधबार ०६:४३

नेकपा एमालेमा पछिल्लो समय देखिएको विवाद अब विस्तारै वार कि पार हुने सम्भावना बढ्दो छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल पक्षका सांसदहरुको आज भएको भेलामा अब नेकपा एमाले अध्यक्ष ओलीलाई संसदीय दलको नेताबाट हटाउन प्रयास गर्नेबारे छलफल भएको एक नेताले बताएका छन् ।

यो छलफलमा ओलीले अध्यक्ष पदबाट राजीनामा दिनु पर्ने यी २२ सांसदले निष्कर्ष निकालेका छन् । ‘उहाँ अब क्षमाशील हुनुपर्छ, नेकपा एमालेमा एकता चाहने हो भने अब अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ,’ बैठकपछि रामकुमारी झाँक्रीले बताएकी छिन्, ‘उहाँले मार्गप्रशस्त गर्दै अध्यक्ष पदबाट राजीनामा दिनु पर्छ ।’ बैठकमा सहभागी एक सांसदले पहिले अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने विषयमा पनि छलफल भएको फरकधारलाई बताएका छन् ।

‘पहिले उहाँलाई एमाले संसदीय दलको नेताबाट हटाउने प्रयास हामी गर्नेछौँ,’ ती नेताले भनेका छन्, ‘प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिन सांसदहरुले उहाँलाई छोडेका छन्, उहाँको गल्तीका कारण अरु सांसद पनि हाम्रो पक्षमा आउने छन् ।’ फरकधारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*