पूर्वएमाले नेता प्यासीलाई जन्मकैदको फैसला

जनपत्र
२१ बैशाख २०७६, शनिबार १६:५६

वीरगन्ज । तत्कालिन एमालेका नेता रामचन्द्र प्यासी कुशवाहालाई कर्तव्य ज्यान मुद्दामा कसुरदार ठहर गरी जन्मकैदको फैसला सुनाइएको छ । जनकपुर उच्च अदालत अस्थायी इजलास वीरगन्जले बारा जिल्ला बन्जरिया बेलहीयाका तत्कालिन एमालेका नेता कुशवाहालाई आफ्नै पार्टीका नेता मोहमद आलमको ज्यान मुद्दामा कुसदार ठहर गरी जन्मकैदको फैसला सुनाएको हो ।

२०७० साल असोज १८ गते दोस्रो संविधान सभा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र बारा क्षेत्र नम्बर ४ मा निर्वाचन प्रचार प्रसार गर्दै जाँदा मोहमद आलम माथि गोली प्रहार भएको थियो । उनी बाराको परवानीपुर नजिकै वीरगन्ज पथलैया सडकखण्डमा पुगेका समयमा मोटरसाइकलमा आएका दुई अभियुक्तले गोली हानी फरार भएको सो समयमा प्रत्यक्षदर्शीले बताएका थिए । सोही घटनाको अनुसन्धान गर्दै जाँदा हत्याको मुख्य योजनाकार तत्कालिन एमाले नेता प्यासी पनि बारा जिल्लाकै थिए । उनीसहितका पाँच जना पक्राउ परेकामध्ये सबै भारतीय रहेको प्रहरीले पक्राउ गरेपछि खुलेको थियो ।

स्व.आलमकी श्रीमती बारा जिल्ला लिपनीमाल गाविस १ हाल पर्सा लिपनीविर्ता बस्ने नेजमा खातुन भन्ने नेजमा आलमले दिएको जाहेरी र सरकारवादी मुद्दामा मुख्य योजनाकार प्यासीसहितका व्यक्तिले कसुर गरेको उच्च अदालत अस्थायी इजलास वीरगन्जले ठहर गरेको हो । उच्च अदालत अस्थायी इजलास वीरगन्जका मुख्य न्यायधिश डिल्लीराज आचार्य र अर्का न्यायधिश चन्द्र बहादुर सारुले बारा जिल्ला अदालतले गरेको सुरुको १० बर्षको कैद फैसला उल्टाउँदै प्यासीलाई जन्मकैदको फैसला सुनाएको छ ।

उनलाई कसुर गर्दाको समयमा प्रचलित कानून बमोजिम तोकिएभन्दा बढि सजाय नहुने गरी ज्यान सम्बन्धी महलको १६ नम्बर बमोजिकको फैसला सुनाइएको उच्च अदालत अस्थायी इजलास वीरगन्जका रजिष्टार जगन्नाथ पौडेलले बताए । ‘यो फैसला गएको मंगलबार उच्च अदालत वीरगन्जका माननीय न्यायधिशहरु आचार्य र सारुको संयुक्त इजलासले गरेको हो उनले भने ।’

वादीको तर्फबाट उच्च सरकारी वकिल कार्यालय वीरगन्जका न्यायधिवक्ता धु्रवमणी ज्ञवाली र उप­ न्यायधिवक्ता कमलराज पन्थीले बहस गरेको ज्यान मुद्दामा अन्य चार भारतीय सहयोगी तथा सुटरका हकमा भने न्यायधिशद्वय आचार्य र सारुको संयुक्त इजलासले एउटालाई १५ बर्ष र बाँकी ३ जनालाई १०⁄१० बर्षको कैद फैसला सुनाएको छ ।

१५ बर्षको कैद फैसला भारत उत्तर प्रदेश पिलिभित जिल्ला रेल्वे रोड सिभिल लाइन घर भई हाल भारत उत्तर प्रदेश किरातन भिलेज जोनपुर बस्ने मनोज, रवि पाण्डे भन्ने राजेश मिश्रलाई बारा जिल्ला अदालतले गरेको सुरुको जन्मकैदको फैसला उल्टाउँदै १५ बर्षको कैद फैसला गरेको जनकपुर उच्च अदालत अस्थायी इजलास वीरगन्जले जनाएको हो ।

त्यसै गरी भारत अलिगढ उपरफोर्ट चौक एरिया जामे मस्जिद घर भई हाल भारत आर्यपुरम सपना कोलनी सेक्टर सी लखनउ बस्ने विपिन यादव भन्ने महमद फहद, भारत विहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला रक्सौलनगर वडा नम्बर ४ डंकन रोड बस्ने बर्मा भन्ने राजु श्रीवास्तव र भारत अलिगढ जिल्ला अलिगढ नगरमा घर भई पछिल्लो समयमा वीरगन्ज महानगरपालिका ४ लक्ष्मीटोल बस्ने अशोक श्रीवास्तव भन्ने अतित खानको हकमा भने बारा जिल्ला अदालतले गरेको सुरुको फैसला १०⁄१० बर्षको कैदलाई सदर गर्दै १०⁄१० बर्षकै फैसला गरेको रजिष्टार पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*