पक्की सडकले जोडिदै हेटौंडा– आमभन्ज्याङ्ग

पक्की सडकमा सरकारको ४ करोड खर्च, सडक बिगार्न क्रसरका सवारीको चुनौती
हरि हुमागाईं
२१ बैशाख २०७६, शनिबार १५:३५

हेटौंडा / मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ आमभन्ज्याङ्ग अहिले पक्की सडक सन्जालले जोडिदै गएको छ । मकवानपुरको सदरमुकाम हेटौंडाबाट सबै भन्दा नजिक रहेको गाउँपालिकाको आमभन्ज्याङ्ग बल्ल पक्की सडकले जोडिदै गएको हो । हेटौंडाको बुद्धचोकबाट गढीको धादिङ्ग सम्म पुग्नका लागि करिब नौ किलोमिरको सडक हो । तर, बर्षौदेखि कच्ची सडकका कारण स्थानीय वासिन्दाले निकै समस्या झेल्नु परेपनि अहिले भने बल्ल पक्की सडकले जोडिदै गएको छ ।

हेटौंडाबाट आमभन्ज्याङ्ग जोड्ने बासुदेब मार्गलाई पक्की सडकले जोड्नका लागि तीनै तहका सरकारले बजेट छुट्याएर काम गरेका छन् । मकवानपुर गढी गाउँपालिका, प्रदेश नम्बर ३ सरकार र संघिय सरकारको बजेटबाट हेटौंडाबाट आमभन्ज्याङ्ग सम्म पक्की सडक जोड्नका लागि यो एक बर्षको बीचमा मात्र तीन करोड ८६ लाख रुपैयाँ खर्च गरिएको छ । यस भन्दा अघिला बर्षमा पनि सडकमा स्लाब ढलान गर्नका लागि सरकारले सहयोग गरेका छन् ।

अहिले हेटौंडा हुँदै सामरी पुल सम्म त्रिभुवनराजपथको पिच सडक पहिलेनै निर्माण भएको छ । सामरी पुलबाट बुङदल सम्म जाने सडकको प्रदेश ३ सरकारको ५० लाख रुपैयाँ लागतमा ४ सय ८३ मिटर लम्माई सडकमा स्लाब ढलान गरिएको मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंले बताउनुभयो । सात मिटर चौडाई रहेको यस सडक स्लाब ढालन भएपछी सवारीका साधन गुढ्न थालेका छन् ।
त्यसैगरी भिमफेदी गाउँपालिकाको बुङ्दलमा भिमफेदी गाउँपालिकाको एक सय ३० मिटर लम्बाई सडक स्लाब ढलान गरिएको छ । कुल १२ लाख रुपैयाँ लागतमा यहाँ सडक निर्माण गरिएको हो ।

गढी गाउँपालिका वडानम्बर ५ बुङ्दल पुलबाट वनको बाटोमा पनि स्लाब ढलानको तयारी गरिएको छ । संघिय सरकारको एक करोड ७५ लाख लागतमा वनको सडकमा ७ सय मिटर सडक स्लाब ढलानको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष हुमागाईंले बताउनुभयो ।
त्यसैगरी गढी ५ सिमल्टारमा गाउँपालिकाको २५ लाख रुपैयाँ लागतमा सडक निर्माण गरिएको छ । त्यसैगरी गढी ६ बागदलीमा गाउँपालिकाको २४ लाख रुपैयाँ लागतमा सडकमा स्लाब ढलान हुने काम हुन लागेको छ ।

एउटै सडकमा कही पक्की कही कच्ची

हेटौंडा–आमभन्ज्याङ्ग जोड्ने बासुदेब मार्गको सडक हुँदै धादिङ्ग सम्म पुग्दा पक्की सडक पार गरेपछी कच्ची सडकबाट हिड्नुपर्छ, फेरी पक्की सडकपछी कच्ची सडक छ । तीनै तहका सरकारले यस सडकमा सबै भन्दा बढी अप्ठेरो पर्ने स्थानमा सडक पक्की निर्माण गरिएको हो । अनी सडज स्थानमा भने बिस्तारै बजेट हुने बित्तिकै सडक स्लाब ढलान गरिएको छ । तर, बासुदेब मार्गको धेरैजसो सडक भने अहिले पक्की बन्न थालिसेकेको छ । अबको तीन बर्ष भित्रमा हेटौंडाबाट गढी गाउँपालिका वडानम्बर ६ बागदली सम्म पुग्ने सडक पुरै पक्की निर्माण गरिसक्ने मकवापनुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं बताउनुहुन्छ ।

सडकमा बर्षायाममा हिलो र हिउँदमा छारो धुलोको समस्या टर्दै

हेटौंडा– आमभन्ज्याङ्ग् सडक खण्डमा बर्षायाम सुरु हुने बितीकै बस, ट्रक र साना सवारीका साधन जान सधैको समस्या थियो । सामरी, बुङ्दल र ज्यामिरे खोला उर्लिएर आएपछी खोला तर्नका लागि समस्या थियो । तर, अहिले सडक पक्की हुन थालेपछी यो समस्या बिस्तारै हल हुँदै गएको छ । सडकमा हिउँद लाग्ने बित्तीकै एउटा सवारीका साधन अगाढी लाग्योकी पछाडी हिड्ने सबैले छारो, धुलो खानुपर्ने समस्या थियो । अब भने सडक पक्की हुँदै गएपछी यो समस्या पनि समाधान हुने भएको छ । धेरै स्थानमा सडक पिच भएपछी हेटौंडा बजारबाट आमभन्ज्याङ्ग घरमा जानका लागि सहज भएको स्थानीय वासिन्दाहरु बताउँछन् ।

ज्यामिरे खोलामा पुल हालिदै

मकवानपुर गढी गाउँपालिका वडानम्बर ५ आमभन्ज्याङ्गको ज्यामिरे खोलामा पुल निर्माण गर्नका लागि संघिय सरकारले टेण्डर निकाली सकेको छ । पुल नहुँदा बर्षायाममा गाउँ र शहरको सम्बन्धनै टुट्ने गरेको थियो । खहरे खोला भएकाले सवारीका साधन ओहोर दोहोर गर्नका लागि बर्षायाममा बाढीका कारण पर्खनुपर्ने बाध्यता थियो । तर, अब पुल निर्माण गर्ने भएपछी यो समस्या पनि हल हुने अध्यक्ष हुमागाईं बताउनुहुन्छ । ३ करोड ८६ लाख रुपैयाँ लागतमा ज्यामिरे खोलमा पुल निर्माण गर्न लागिएको हो । टेण्डर मार्फत पुल निर्माण गर्नका लागि अन्तीम तयारी भइसकेको छ ।

पक्की सडकमा क्रसरका टिफरको चुनौती

हेटौंडा– आमभन्ज्याङ्ग जोड्ने पक्की सडक निर्माण भइरहँदा गढी गाउँपालिका वडानम्बर ५ र ६ का वासिन्दा निकै खुसी भएका छन् । तर, सडक निर्माण भईसक्ने बित्तीकै पक्की सडकबाट यहाँ सिमल्टार, कालिवन लगायतका स्थानमा अबैध रुपमा संचालनमा आएका क्रसर उद्योगका लोड बोकेका टिफर मुख्य चुनौतीका रुपमा रहेको स्थानीय वासिन्दाहरु बताउँछन् ।

सडक निर्माणको काम सकिने लगतै क्षमता भन्दा बढी गिट्टी, ढुङ्गा, वालुवा, ग्राभेल बोकेका टिफर स्लाब ढलान गरिएको सडकमा ओभरलोड बोकेर गुढ्दा धेरै बर्ष टिक्नका लागि समस्या भएको सडकका प्राबिधिकहरु बताउँछन् । यो सडक ठुला भारवहन क्षमताका टिफर गुढ्नका लागि क्षतमताले नधान्ने प्राबिधिकको भनाई छ । तर, त्यही सडकबाट टिफर गुढ्न थालिसकेपछी अहिले सडक बनाउँदै जाने बिग्रिदै जाने समस्या हुन सक्के उनिहरुको भनाई छ । यस्तै गढी गाउँपालिकाको मजुवा खानीबाट चुनढुङ्गा लोड बोकेका टिफर पनि उत्तिकै चुनौती बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*