मकवानपुरबाट लागूऔषध गाँजा निकासी गर्नेक्रम बढ्यो
हेटौंडा। मकवानपुर जिल्ला भएर लागूऔषध ओसार पसार गर्नेक्रम निकै बढेको छ । निकासी गर्न लागिएको गाँजा प्रहरीले नियन्त्रणमा पनि लिएको छ । ठुला ट्रक, टाटासुमोमा गाँजा ओसार्ने क्रम पनि बढेको छ । यसको नियन्त्रणका लागि प्रहरी पनि सक्रिय भएको छ । तर, मकवानपुरका बिकट गाउँ र धादिङ जिल्लाबाट समेत भारत निकासी गर्न लागेको गाँजा मकवानपुर प्रहरीले बरामद गर्ने गरेको छ ।
बितेको असार महिनामा सबै भन्दा धेरै गाँजा बरामद गरिएको छ । प्रहरीका आखा छलेर निकासी गर्न खोज्ने तस्करहरु पनि धेरै बढेका छन् । यसै क्रममा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारबाट लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट नामटारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहेको टोलीले गस्ती टोलीले कैलाश ९ नामटारमा संकास्पद अवस्थामा पैदल हिडिरहेको दुईजनालाई ९ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो।
प्रहरीले गाँजा सहित कैलाश–४ झ्याङ्ने बस्ने अन्दाजी १५ बर्षीय सन्तोष न्यौपाने र सोही स्थान बस्ने अन्दाजी १४ बर्षीय सागर मोक्तानलाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताउनुभयो ।
प्रहरीले उक्त गाँजा दुबै जनाले दुई वटा पोका बनाएर पछाडी भिर्ने झोलामा लुकाई छिपाई ल्याइएको अवस्थामा फेला पारेको हो।पक्राउ परेका दुबैजना माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।