अफगानिस्तानमा अमेरिकी तथा नेटो सैनिकका प्रमुख कमाण्डर मिलर जिम्मेवारीबाट हटे

अफगानिस्तानमा सैन्या अभियानको नेतृत्व गरिरहेका अमेरिकी तथा नेटो सैनिकका शीर्ष कमाण्डर आफ्नो जिम्मेवारीबाट हटेका छन् । अमेरिकाको नेतृत्वमा विगत २० वर्षदेखि अफगानिस्तानमा जारी सैन्य अभियानको अन्त्य हुँदै गर्दा सैनिक जनरल अस्टिन ‘स्कट’ मिलरले शीर्ष कमाण्डरको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
सोमबार जनरल मिलरले आफ्नो जिम्मेवारी दुई जनरलमा हस्तान्तरण गरेका हुन् । साधारण समारोहका बिच उनले फ्लोरिडामा रहेको सेन्ट्रल कमाण्ड हेडक्वाटरबाट अमेरिकी सैन्य अभियानको नेतृत्व गर्ने एक तथा अफगानिस्तानमा रहने झण्डै ६५० सैनिकको नेतृत्व गर्ने अर्का जनरलमा जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा जारी सैन्य अभियान अगस्ट ३१ सम्ममा अन्त्य हुने घोषणा गरिसकेका छन् । सो समय सीमा भेट्टाउनका लागि अमेरिकी तथा नेटोमा रहेका बेलायतीसहितका सैनिकहरुको अन्तिम समूह फिर्ता हुने क्रममा छ । अमेरिकी तथा नेटो सैनिक फिर्ता हुने क्रम जारी रहँदा अफगानिस्तानमा तालिबान बिद्रोहीको प्रभाव भने बिस्तार हुँदै गएको छ । पछिल्ला दिनमा तालिबानले आफ्नो नियन्त्रणको क्षेत्र बढाउने क्रम जारी राखेको छ ।
सोमबार भएको बिदाई कार्यक्रममा जनरल मिलरले भने, ‘मैले औपचारिक रुपमा बिदा लिनु आवश्यक थियो । अब हाम्रो काम भने नर्बिसनु हो ।’ बिदाई कार्यक्रममा उच्च अफगान अधिकारीहरु पनि थिए । उनी अफगानिस्तानमा अमेरिकी तथा नेटो सैनिकको नेतृत्व लामो समय गर्ने सैनिक जनरल हुन् । अफगानिस्तानमा गरेको काम आफ्नो सैन्य जीवनको ‘हाइलाइट’ रहेको पनि उनले बताएका छन् । काबुलमा भएको कार्यक्रममा उनले अमेरिकी सहयोग जारी रहने पनि बताए ।
तालिबानले हालै मात्रा अफगानिस्तानको ८५ प्रतिशत क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । यो दाबी स्वतन्त्र रुपमा पुष्टि गर्न सकिएको छैन र सरकारले अस्वीकार गरेको छ । अर्को आँकलनमा अफगानिस्तानका ४०० मध्ये एक तिहाई जिल्लामा तालिबानको नियन्त्रण रहेको ठानिन्छ । अमेरिकी नेतृत्वको सैन्य अभियानले तालिबानलाई सन् २००१ मा सत्ताबाट बाहिर पठाएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी आक्रमणमा संलग्न रहेको अभियोग थियो तालिबानमाथि ।
अमेरिकी राष्ट्रपति तथा अरु अमेरिकी नेताहरुले तालिबानले काबुलमा रहेको अफगान सरकारमाथि धावा नबोल्नेमा विश्वास रहेको बताउँदै आएका छन् । तर केही कूटनीतिक सूचनाहरुका अनुसार त्यो हुन सक्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । देशसञ्चारबाट