हेटौंडाको बसामाडीमा मोटरसाइकल दुर्घटनामा कार्कीको मृत्यु

हेटौंडा । हेटौंडाको बसामाडीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ३ बसामाडिमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सडक डिभिजन कार्यालयले सडक मर्मत तथा निर्माणको लागि थुपारेको ढुंगामा मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा मनहरी ३ हाडिखोला बस्ने अन्दाजी ३१ वर्षका कृष्णहरी कार्कीको मृत्यु भएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष रामकुमार पुडासैनीले बताए । उनले भने ‘यो सबै सडक निमार्ण गर्नेको लापरवाहीको कारण भएको हो । सडक निमार्णमा आवश्यक निमार्ण सामाग्री सडकभर रहेका छन्, न साबधानको बोर्ड राखिएको छ । सडम डिभिजनको लापरवाहीले एकजनाको ज्यान गयो ।’
गएराती रातको १२ बजे मोटरसाइकल अनियन्त्रित भई सडकमा थुपारेको ढुंगामा ठोकिएर घाइते भएका उनको हेटौंडा(११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल ओभरस्पीडमा रहेको हुँदा दुर्घटना भएको हो ।
हेटौंडाबाट मनहरीतर्फ गइरहेको बागमती प्रदेश ०३-००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडिमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोकिएर अनियन्त्रित भई दुर्घटना भएको हो ।
उक्त सडक निर्माका क्रममा वडाबाट पटक पटक सावधानका बोर्ड राख्न तथा निर्माण सामाग्री सडक ढाक्नेगरि नराख्न अनुरोध गर्दा पनि सुनुवाई नभएको हेटौंडा ३ का वडाअध्यक्ष पुडासैनीले बताए । उनले सडक डिभिजन र ठेकेदारको चरम लापरवाहीले एक युवा गुमाउनु परेको बताए ।