विदेशमा ‘ठक्करै ठक्कर’, गाउँ फर्किएर बाख्रापालन

लमजुङ – घरको आर्थिक अवस्था कमजोर । खासै पढाइ, लेखाइ भएन । त्यसैले कलिलै उमेरमा धन कमाउन भारत पस्नुभयो, लमजुङ दोर्दी गाउँपालिका ३ श्रीमन्ज्याङका धनबहादुर गुरुङ ।
उहाँले भारतमा १० वर्षसम्म श्रम गर्दै पसिना बगाउनुभयो । एक दशकसम्म भारतमा बिताए पनि उहाँको आर्थिक स्थिति भने माथि उठ्न सकेन । ‘१५ वर्षमा भारत गएँ, १० वर्ष उतै काम गरेँ तर गतिलो कमाइ भएन’, उहाँले भन्नुभयो ।
त्यसपछि उहाँ गाउँ नै फर्कनुभयो । गाउँ त फर्कनुभयो तर आम्दानीको कुनै स्रोत नभएपछि उहाँलाई गुजारा चलाउन निकै सकस भयो ।
‘चुल्हो बाल्न’ कै लागि फेरि विदेश
घरको ‘चुल्हो बाल्न’ कै लागि धनबहादुरले फेरि विदेश जाने सोच बुन्नुभयो । उहाँ २०७० सालमा मलेसिया जानुभयाे । उहाँले मलेसियामा नौ महिना बिताउनुभयो ।
उहाँले त्यहाँ झन् धेरै दुःख भोग्नुपर्यो । ‘मलेसिया त गइयो । २४ घण्टा एअरपोर्टमै अलपत्र परियो’, धनबहादुरले भन्नुभयो, ‘धेरै समयपछि कम्पनी लिन आयो । लामै समय कोठामा थुनिएर बस्नुपर्यो । बल्ल–बल्ल कम्पनीले काम लगायो ।’
उहाँले नौ महिनाको अवधिमा पाँच महिना मात्रै काम गर्नुभयो । ‘नौ महिनाको अवधिमा पाँच महिना काम गरेँ तर तीन महिनाको मात्रै तलब पाएँ’, उहाँले भन्नुभयो, ‘विदेशमा धेरै ठक्कर खाइयो । विदेशमा बस्न मन लागेन र गाउँ फर्किएँ ।’