हेटौंडा अस्पताललाई थप तीन वटा डायलासिस मेसिन हस्तान्तरण
हेटौंडा । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई तीन वटा डायलासिस मेसिन आज हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी उपमहानगरपालिकाका मेयर हरि बहादुर महत मार्फत प्रतिष्ठानका रजिष्टार तथा अस्पताल बिकास समितिका अध्यक्ष राजेश प्रसाईलाई तीन वटा डायलाशिस मेसिन हस्तान्तरण गरिएको हो ।
रोटरी क्लब अफ मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा तीन वटा डायलासिस मेसिन हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै मेयर महतले मकवानपुरका मृगौलाका बिरामीलाई डायलासिस गराउनका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको वताउनुभयो ।
हेटौंडा अस्पतालमा थप तीन वटा मेसिन ल्याउनका लागि उपमहानगरपालिकाले १६ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको वताउनुभयो । अरु रकम भने रोटरीले बेहोरेको हो । हेटौंडा अस्पतालमा उपमहानगरपालिकाको पूर्ण सहयोगमा डायलासिस गर्ने काम भइरहेको छ । प्राबिधिक सहयोग अस्पतालले गरेको छ ।
कार्यक्रममा रोटरीका असिस्टेण्ट गर्भनर नारायण प्रधान, अध्यक्ष सुन्दर कुमार जोशी, संस्थापत्र अध्यक्ष ज्ञानकृष्ण प्रजापती, निवर्तमान अध्यक्ष कबिन सांगामी, अस्पतालका सुपरीटण्डेन डाक्टर रामचन्द्र सापकोटा, समाजसेवी शिद्धीलाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।