अफगानिस्तानका एक हजारभन्दा धेरै सैनिक भागेर ताजिकिस्तान पुगे

काठमाण्डाै – अफगानिस्तानका एक हजारभन्दा धेरै सैनिक तालिबानसँगको भिडन्तपछि भागेर ताजिकिस्तान पुगेका छन् । ताजिकिस्तानको सीमा सुरक्षा सैन्यले विज्ञप्ति निकालेर अफगान सैनिक ज्यान जोगाउन भागेर सीमापारि पुगेका बताएको बीबीसीले जनाएको छ ।
अफगान सैनिक भागेर ताजिकिस्तान पुगेका गएको तीन दिनमा यो समेत तेस्रो घटना हो भने दुई हप्तामा पाँच पटक गरी एक हजार ६ सय अफगान सैनिक भागेर ताजिकिस्तान पुगिसकेका छन् ।
अफगानिस्तानबाट बीस वर्षपछि अमेरिका, बेलायत र गठबन्धन सैन्य आफ्नो देश फर्कन थालेसँगै हिंसा चर्किन थालेको छ । तालिबानले उत्तरी भेगमा कब्जा गर्न थालेका बीबीसीले जनाएको छ ।
आउँदो सेप्टेम्बरसम्ममा विदेशी सेना फिर्ता भइसक्ने कार्यक्रमअनुसार धेरैजसो विदेशी सैनिक अफगानिस्तानबाट बाहिरिइसकेका छन् । तालिबानसँग भएको सम्झौता अन्तर्गत अमेरिका र उसको नेटो साझेदारहरूले आफ्ना सबै सेना फिर्ता लैजाने र तालिबानले उनीहरूको नियन्त्रण रहेको क्षेत्रमा कुनै पनि कट्टरपन्थी समूहलाई सक्रिय रहन नदिने प्रतिबद्धता जनाएका थिए । तर तालिबानले अफगान सैन्यसँगको लडाइँ बन्द गर्न सहमति जनाएनन् ।
अहिले तालिबानको नियन्त्रणमा अफगानिस्तानको एक तिहाइ भाग रहेको अनुमान गरिन्छ । विदेशी सैनिकको अनुपस्थितिमा अफगान सेनाले ठूला भिडन्तको सामना गर्नु परिरहेको छ भने यसले अब अफगानिस्तानमा फेरि अवस्था कठिन हुने चिन्ता बढेको छ ।