पर्वतमा हावाहुरी र असिनापानीले बालीमा क्षति, विद्यालयको छाना उडायो

बुधवार दिउसो आएको हावाहुरी र असिनापानीका कारण पर्वतका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ । असिना र हावाहुरीले खेतवारीमा लगाएको मकै र तरकारी बालीमा क्षति पुर्याएको छ । सदरमुकाम कुश्माबजारमा रुखहरु ढलेका छन् भने कच्ची घरका छाना उडाएको प्रहरीले जनाएको छ । त्यसैगरी कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित जनज्योती प्राविको चार कोठे भवनको पुरै छाना उडाउनुका साथै विद्यालयको भवनसमेतमा क्षति पुगेको छ ।
पिपललटारी, कटुवाचौपारी, शंकरपोखरी, धाईरिङ्ग, पाङ, दुर्लुङ्ग लगायतका क्षेत्रमा हावाहुरीका कारण बालीनाली र विभिन्न भौतिक संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् ।
आधा घण्टाभन्दा बढी समय परेको असिनाले बालीनालीमा ठुलो क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
हावाहुरीले रुखहरु ढल्दा विभिन्न क्षेत्रको विद्युत सेवा अवरुद्ध बनेको छ ।