‘सरकारका ऐतिहासिक कामका कारण एमाले नागरिक माझ झन् लोकप्रिय हुँदै गयाे’

जनपत्र
१६ असार २०७८, बुधबार १७:५०

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले नागरिक माझ झन् लोकप्रिय हुँदै गएको बताउनुभएको छ । बुधवार बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले ऐतिहासिक रूपमा अभूतपूर्वक ढङ्गले विकास निर्माणको गतिलाई अघि बढाएका कारण नागरिकमा लोकप्रिय हुँदै गएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘योजनाबद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकाङ्क्षा र त्यस आकाङ्क्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र त्यसअनुसारकाे क्रियाकलापले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ ।’

बिमिस्टेक, लगानी सम्मेलनलगायत अन्तर्राष्ट्रियस्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय हित सार्वभौमसत्तालाई सम्वर्द्धन गरिरहेको र हाम्रा छिमेकी मित्र देशहरूकाे सम्बन्धमा कतै असमझदारी पैदा भइ हाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्त्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लगेका थियौँ । विकास गर्दै लगेका थियौँ । इतिहासमा पहिले कहिलेकाहीँ नभएका ठूला–ठूला सकारात्मक लक्ष्यहरू प्रकट भएका थिए ।’

सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदा पार्टीभित्र भित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरू व्यवहारमा भद्दा ढङ्गले प्रकट हुँदै आएको टिप्पणी उहाँले गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘खासगरी सञ्चारमाध्यममा पार्टीका नीतिहरू अनि पार्टी नेतृत्वको धज्जी उडाउने, गाली बेइज्जती र अपमान गर्ने, सरकारले गरेका राम्रा उपलब्धिको चर्चा नगर्ने लगायतका थुप्रै प्रयास चलिरहे । प्रचारात्मक ढङ्गले । यस्ता कुराले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको छ । जनता दुखी छन् र निराश छन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*