हेटौंडामा बस टर्मिनल, बहुउद्धेशीय व्यापारिक भवन र फलफूल तथा तरकारी बजार निर्माणमा जोड

जनपत्र
११ असार २०७८, शुक्रबार ०९:०७

हेटौंडा । हेटौंडामा बस टर्मिनल, बहुउद्धेशीय व्यापारिक भवन र फलफूल तथा तरकारी बजार निर्माणमा स्थानीय सरकारले जोड दिएको छ । दिर्घकालिन रुपमा उपमहानगरपालिकालाई राजस्व संकलन गर्नका लागि सहज हुने गरी यसको भौतिक पूर्वाधार विकास गर्नका लागि आउँदो वर्षका लागि ल्याइएको बजेटमा जोड दिइएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो । यी आयोजनाहरु हेटौंडाको सुन्दरता संगै वषौदेखि भोग्दे आएको समस्या समाधान गर्नतर्फ पनि केन्द्रीत रहेका छन् । यी योजनाका लागि उपमहानगरपालिकाले सबै भन्दा धेरै रकम छुट्याएको छ ।

आगमी आर्थिक वर्षमा उपमहानगरपालिका कार्यालयले सबै भन्दा महत्वपूर्ण कामका रुपमा बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजना अन्तर्गत १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मेयर महतले वताउनुभयो । हेटौंडा ४ मा निर्माण हुने बहुबर्षीय योजना अन्तर्गत बहुउद्धेशीय व्यापारिक भवन निर्माण कार्य शुरु गर्न १५ करोड विनियोजन गरिएको छ।

बृह्त्तर चक्रपथ निर्माण कार्य निरन्तरता अन्तर्गत एक्लेखेत राजदेवी, मजुवा दोभानचौर खण्डको सडक स्तरोन्नतिका लागि ३ करोड विनियोजन गरिएको उहाँले वताउनुभयो । हेटौंडा १७ कठायत चोक देखि बालबोध माबिसम्मको सडक स्तरोन्नतिका लागि ३ करोड विनियोजन गरिएको छ। कर्रा करिडोर निर्माण निरन्तरताको लागि १ करोड ५० लाख विनियोजन गरिएको छ।

संघीय सरकार, प्रदेश सरकार,जिल्ला समन्वय समिति एवम् अन्य संघ संस्था हरूसंगको साझेदारीमा संचालन हुने योजनाको लागि ४ करोड ५० लाख विनियोजन गरिएको उहाँले वताउनुभयो । वडा तथा वस्ति स्तरीय पूर्वाधार योजनाको लागि ३२ करोड ७० लाख विनियोजन गरिएको छ। नगरवासीलाई स्वच्छ खानेपानी व्यबस्थापन गर्न हेटौंडा खानेपानी व्यबस्थापन बोर्डसंग सहलगानी कार्यक्रमको लागि १ करोड ५० लाख विनियोजन गरिएको छ। आयोजनाहरु सहित पूर्वाधार विकास क्षेत्रभित्र पर्ने उर्जा, सडक बत्ति, आवास व्यबस्था, जलश्रोत सिंचाई लगायत नगर स्तरीय पूर्वाधार आयोजना संचालनका लागि १ अरब ३० करोड ४५ लाख ७६ हजार विनियोजन गरिएको उहाँले वताउनुभयो ।

त्यसैगरी हेटौंडा ११ थाना भर्याङ्ग स्थित प्रदेश सरकार संगको सहकार्यमा निर्माण हुने प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रको लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। रोजगार प्रवर्द्धन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम र यूवा रोजगारीको लागि रुपान्तरण पहल कार्यक्रमका लागि १ करोड ५३ लाख विनियोजन गरिएको छ।

कृषि विकास अन्तर्गतका कार्यक्रमका लागि २ करोड २४ लाख ५० हजार, पशुपंक्षी विकास अन्तर्गतका कार्यक्रमको लागि २ करोड २४ लाख विनियोजन गरिएको छ। उद्योग विकास, सहकारी क्षेत्र र वित्तीय क्षेत्र अन्तर्गतका कार्यक्रमको लागि १ करोड २७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।

गुम्बा डांडा, कुष्माण्ड सरोवर त्रिवेणीधाम, टोनी हेगन पार्क,जुरेथुम पर्यटकीय पार्क, स्वर्गिय बिपि गणेशमान स्मृति पार्क लगायतका पर्यटकीय पूर्वाधार योजना निर्माणका लागि २ करोड १९ लाख विनियोजन गरिएको उपमेयर मिना कुमारी लामाले लामाले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*