काभ्रेको पात्लेखेतमा सामुदायिक होमस्टेको आनन्द

जनपत्र
११ असार २०७८, शुक्रबार ०७:००

काभ्रे । करिब ८ वर्षअगाडि गाउँकै केशव बडाल र रवीन्द्र न्यौपानेलगायतले गाँउलेका घरका खालीकोठामा विदेशी र स्वदेशी पाहुना ल्याएर राखौँ भन्दा काभ्रेको पात्लेखेत, डाँडागाउँका बासिन्दाले उनीहरूका कुरा ‘घाममा सुकाइदिए’ । कतिले खिल्ली उडाउन पनि भ्याए ।

तर, आजसम्म आइपुग्दा कथा फेरिएको छ । बडाल र न्यौपानेको परिकल्पना आज वास्तविकता भइसकेको छ । चार वर्ष अगाडिको भुईँचालोले गाउँका धेरै घर लडाउँदा पनि पात्लेखेत सामुदायिक होमस्टे कार्यक्रम अनवरत सञ्चालनमा छ । त्यसयता हरेक हप्ता कोही न कोही विदेशी तथा स्वदेशी पाहुना काठमाडौँबाट ४२ किलोमिटर पूर्वको यो गाउँ पुगेका छन् । उनीहरूको आगमनले गाउँलेलाई दैनिक जीवन चलाउन मात्र नभएर पुनर्निर्माण अभियानलाई अझ बलियो बनाउन पनि सघाउ पुगेको छ । संस्थागत सुरुवात आठ वर्ष अगाडि भए पनि यो सोच अलिक पुरानै रहेको होमस्टे सञ्चालन समतिका अध्यक्ष बडालको भनाइ छ ।

त्यसैमा न्यौपाने थप्छन्, “हाम्रो जिन्दगी आफ्नै हिसाबले अगाडि बढिरहेको थियो । गाउँलेहरू खेतीकिसानी र पशुपालनमै रमाएका थियौँ । तर संवत् २०५६र५७ तिर वीपी राजमार्गमा गाडी चल्न थाले ।”

“गाडी मात्र आएनन्, गाडीभित्र बसेर देशैभरिका मान्छे हाम्रो गाउँ हुँदै ओहोरदोहोर गर्न लागे । अनि हामीलाई लाग्यो कि हाम्रा केही उत्पादन उनीहरूलाई बेच्न पाए हामी पनि केही पैसा कमाउँथ्यौँ ।”

एकातिर बाटोले गाउँलाई काठमाडौँसँग जोड्यो, अर्कातिर संवत् ०५४ को स्थानीय चुनावमा पात्लेखेत गाविस अध्यक्ष निर्वाचित भएका बडालको जनसम्पर्क देशैभरि फैलँदै थियो । यस क्रममा उनको सम्पर्क भयो, आर्थिक दिगोपना र वातावरणीय स्वच्छता सहितको सद्भावमय समुदायको विकासमा कार्यरत लभ्ली ग्रिन नेपाल नामको गैरसरकारी संस्थासँग । संस्थाका अध्यक्ष स्वर्गीय गोरेकाजी सङ्गतले उनलाई एभ्रिथिङ् अर्गानिक नर्सरीसँग सम्पर्क गराइदिए ।सङ्गतले जुटाइदिएको बडाल लगायतका गाउँले र नर्सरी टोलीबीचको सङ्गत बलियो हुँदै गयो । केही वर्षमै एभ्रिथिङ् अर्गानिक नर्सरी नै डाँडागाउँ सर्‍यो ।

“त्यसपछि सङ्गत सर र लभ्ली ग्रिन जापानका ओसिनो सानले हामीलाई एउटा जापानी टोलीलाई गाउँमा आतिथ्य प्रदान गर्न आग्रह गर्नुभयो,”बडाल सुनाउँछन् ।

तर सुरुमा गाउँलेहरू तयार नै भएनन् । के गर्ने, कसो गर्ने केही थाहा नै भएन । सङ्गतले गाउँलेलाई विदेशी पाहुना स्वागतका लागि के कसो गर्ने, के के खुवाउने भनेर सिकाए । अनि बल्ल गाउँलेहरू तयार भए ।

“नभन्दै विदेशीहरू आए । हामीले उनीहरूसँग धेरै क्रियाकलाप गर्‍यौं । पछि त अचम्म‘ धेरै गाउँलेलाई यो काम मन परेछ । अनि पाहुनाहरूले पनि हामीलाई मन पराए । त्यसपछि त हामीलाई अझ धेरै मान्छे आइदिए हुन्थ्योजस्तो लाग्यो,” हाल होमस्टे कार्यक्रमको प्रबन्धकका रूपमा कार्यरत न्यौपाने बताउँछन् ।

त्यसपछि सङ्गतले अरू जापानीलाई पनि पात्लेखेत पुर्‍याए । एभ्रिथिङ् अर्गानिक नर्सरीमा तालिम लिने बहानामा अन्य देशका पर्यटक पनि गाउँ पुग्न थाले ।

“संवत् ०७१ सम्म आइपुग्दा, हाम्रो गाउँ आउने विदेशीको सङ्ख्या उल्लेख्य भइसकेको थियो । होमस्टे कार्यक्रम पनि फैँलँदै गयो । तर ०७२को भुईँचालोले हामीलाई अल्झायो ।” भुईँचालोमा परी होमस्टे सञ्चालनमा रहेका सबै १६ घर भत्किए । बडाल सम्झन्छन्, “पुनर्निर्माण गाह्रो काम थियो । त्यसैले हामीले होमस्टे बन्द गर्ने सोच्यौँ ।”

तर केही समय लगत्तै उनीहरूले सहयोग पाए । तर त्यो रकमी सहयोग नभएर धेरै पाहुना पठाउने प्रतिबद्धता थियो । पहिला गाउँमा बसेको एक ताइवानी समूहले पुनर्निर्माणमै सहयोग गर्न भनेर पात्लेखेतमा नियमित पाहुना पठाउने भयो ।

पहिला यहाँ आएका ताइवानी भुईँचालो लगत्तै गाउँमा आए । “उनीहरू पनि हामीसँगै त्रिपालमुनि र टहरामा बसे । भत्किएका घरबाट निस्केका ढुङ्गा माटो तह लगाउन सघाए । अमूल्य गुन लगाए,” बडाल सुनाउँछन्, “अलिक पछि हामी फेरि आफ्नै खुट्टामा उभिन सक्यौँ । उनीहरू नआइदिएको भए यो होमस्टे बन्द भइसक्थ्यो ।”

जापानी र ताइवानी पाहुनाले गाउँ वरिपरिका छ ओटा सामुदायिक स्कुल बनाउन पनि सहयोग गरे । गाउँको केन्द्रमा एउटा सामुदायिक भवन बनाइदिए, जहाँ अहिले तिन ओटा सहकारीले आफ्नो कार्यालय राखेका छन् । पुनर्निर्माणका क्रममा धेरै गाउँलेले सिमेन्ट र बालुवा प्रयोग गरी सहरिया तरिकाको घर बनाए । आज सम्झिँदा न्यौपानेलाई त्यो कुराको पछुतो लाग्छ ।

“हामीले सोच्यौँ कि पुराना शैलीका घर छिट्टै भत्कन्छन् । ती घर कुनै पनि हिसाबले कामलाग्दा लागेनन्,” उनी सम्झन्छन्, “अरूको के कुरा,गाउँमा ‘आधुनिक’ घर बनाउने पहिलो व्यक्ति नै मै हुँ ।”

हुन त एक ताइवानीले उनलाई पुरानै शैलीको घर बनाउन नसम्झाएका होइनन् । तर न्यौपानेले उनको कुरा पत्याएनन् । जब उनलाई पुरानो शैलीको महत्व थाहा भयो, ‘आधुनिक’ घर पनि ठडिइसकेको थियो ।

“अनि त सिङ्गो गाउँ र होमस्टे समुदायको स्वरूपको रङ् उडेजस्तो देखियो । आज मलाई हाम्रो गाउँ पुरानै स्थितिमा फर्काउन मन छ । तर सम्भव नै छैन,” उनी दुखेसो पोख्छन् ।

होमस्टेले करिब सय जना गाउँलेलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिएको बडालको दाबी छ । अप्रत्यक्ष किसिमले अरू लाभ प्राप्त गर्नेको सङ्ख्या अझ ठूलो छ ।

“पहिला हामी किसान मात्र थियौँ, दूध बेच, तरकारी बेच, अनि पैसा कमाऊ । हुन त आज पनि हामी किसान नै हौँ, तर होमस्टेले हामीलाई धेरै सहयोग गरेको छ । एभ्रिथिङ् अर्गानिक नर्सरीका कारण हामीले खेतीपातीका नयाँ तरिका पनि जानेका छौँ,” बडालका अनुसार नर्सरीले गाउँले किसानलाई प्राविधिक ज्ञानसँगै उन्नत बिउबिजन पनि दिन्छ । नर्सरीले कृषि उत्पादन अर्गानिक हुनुपर्ने कुरामा खुबै जोड दिन्छ ।

सँगसँगै विदेशी पाहुनाले पनि धेरै कुरा सिकाए, विशेष गरी नयाँ कृषि प्रविधि र संस्कार । आज गाउँलेले स्वास्थ्य र सरसफाइको महत्व बुझेको बडाल जानकारी दिन्छन् । पहिला गाईगोठ घिनलाग्दा हुन्थे, अहिले कुनै विदेशीलाई पनि गोठ पस्न घीन लाग्दैन । “म सानो छँदा केके उपद्रो गरेर समय बिताउँथेँ । तर आज गाउँ बदलिएको छ, अबका केटाकेटीले उपद्रो गर्ने समय छैन । होमस्टेले सिङ्गो गाउँको सशक्तीकरण भएको छ,” न्यौपाने दाबी गर्छन्, “हो, होमस्टेले सहर र विदेश जाने गाउँलेलाई खासै रोक्न सकेको छैन । तर पनि गाउँमै बसेर केही गर्न सकिन्छ भन्नेका लागि यो कार्यक्रम उदाहरण बनेको छ ।”

साथसाथै, गाउँलेले पर्यटन र गाउँमा यस उद्यमको प्रभाव बुझेको बडालको धारणा छ । उनका अनुसार सुरुसुरुमा गाउँलेले धेरै पर्यटक राख्नै चाहेनन् । तर समय बित्दै जाँदा उनीहरूलाई आतिथ्य प्रदान गर्ने काम सहज लाग्न थाल्यो । “पहिला ‘अब भयो, धेरै मान्छे नबोलाऔँ’ भन्नेहरू नै आज धेरै पर्यटक चाहियो भन्छन् । अन्य गाउँका मान्छे पनि आएर होमस्टेको सदस्य बनाइदिनुपर्‍यो भन्छन् ।”

“एउटा समूह एक हप्ता बस्यो भने एउटा घरले १५र२० हजार रुपैयाँ कमाउँछ । त्यसैले समग्र गाउँका लागि यो फाइदाजनक छ ।”

यो लाभको मात्रा अझ बढाउनका लागि गाउँलेहरूले नेपाल पर्यटन बोर्ड, नाथम र तारागाउँ विकास समितिबाट एक आतिथ्य सत्कार तालिम पनि लिएका छन् । विदेशी पाहुना सँगसँगै गाउँमा नेपाली पाहुनाको उपस्थिति पनि बढ्दो छ । काठमाडौँबाट नजिकै भएका कारण यहाँ विभिन्न गैरसरकारी संस्था,स्कुल तथा कलेज विभिन्न कार्यक्रम गर्ने गरेका छन् ।

न्यौपानेका अनुसार वर्षको करिब एक हजार नेपाली पर्यटक होमस्टेमा बस्न पुग्छन् । यद्यपि सबै नेपाली पर्यटकले होमस्टेको अवधारणा बुझ्न नसकेको उनको दुखेसो छ ।

“गाउँले जीवन कसरी चलेको छ, अधिकांशले त बुझ्नुहुन्छ । तर कोहीकोहीले हाम्रा कुरा बुझ्नुहुन्न,” उनी सुनाउँछन्, “उहाँहरू होमस्टेको शान्त वातावरणमा रमाउन सक्नुहुन्न । ठूलो आवाजमा गीत बजाएर राति ढिलासम्म बसिदिनुहुन्छ । उहाँहरूलाई रमाइलो भनेकै त्यही हो भन्ने छ ।”

यस्ता नेपाली पर्यटकले होमस्टेमा विदेशीको भन्दा बढी पैसा खर्चन्छन् । यद्यपि उनीहरूको दृष्टिकोण र व्यवहारका कारण कतिपय पर्यटकले नेपाली पाहुना राख्न नमान्ने उनी बताउँछन् । पात्लेखेत होमस्टेको भोलिको बाटो स्पष्ट छ, आफ्नो सेवालाई सुधार्दै निरन्तरता दिने । यहाँका प्रायः सबै घरका बेडरुममा अहिले कमोड सहितको बाथरुम गाँसिएको छ । त्यसैले सुखसुविधा खोज्ने पर्यटकलाई पनि होमस्टेमा खासै समस्या छैन ।

अझ धेरै पर्यटक आऊन् भन्नका लागि होमस्टेले अझ धेरै प्रचारप्रसार गर्ने योजना बनाएको छ । हाल यहाँ वार्षिक एक हजार विदेशी र एक हजार स्वदेशी पर्यटक आउँछन् ।

साथै होमस्टे सञ्चालकले आफ्नो समुदायको सरसफाइमा पनि सुधार ल्याउने सोच बनाएका छन् । तर बस्तीको मध्यमा राजमार्ग पर्ने भएकाले यो अलिक कठिन देखिएको छ ।

“होमस्टे सुरु गरेर समाजका लागि केही राम्रै गरिएछ भन्ने महसुस हुन्छ । यसले गाउँलेलाई धेरै सहयोग पुर्‍याएको छ,” बडालको भनाइ छ,“अन्य गाउँमा पनि यस्तो कार्यक्रम फैलनुपर्छ । यसले समग्र गाउँमा परिवर्तन ल्याउँछ । गाउँलाई नै राम्रो बनाउँछ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*