६० प्रतिशतले बढ्यो मोटरसाइकल आयात

जनपत्र
११ असार २०७८, शुक्रबार ०६:०२

अघिल्लो वर्षको बन्दाबन्दीयता मोटरसाइकल तथा स्कूटरको आयात बढ्दै गएको छ । कोरोनाले अन्य थुप्रै व्यवसाय धराशयी भएपनि मोटरसाइकलको आयात भने बन्दाबन्दी खुलेपछि गतवर्षको साउनदेखि बढ्दै गएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ११ महीनामा मोटरसाइकलको आयात ६० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल २ लाख २ हजार ५६२ वटा मोटरसाइकल आयात भएकोमा यस वर्ष आयात वृद्धि भई ३ लाख २३ हजार ४६० पुगेको छ । यस अवधिमा मोटरसाइकल आयातका लागि कुल रू। ३० अर्ब बाहिरिएको छ । अघिल्लो वर्ष नेपालमा रू। १८ अर्ब २४ करोडको मोटरसाइकल आयात भएको थियो ।

२०७६ चैत दोस्रो सातादेखि सरकारले नेपालमा कोरोनाको संक्रमण देखिन थालेपछि बन्दाबन्दी गरेको थियो । ३ महीना लामो बन्दाबन्दी असारबाट खुकुलो भएकोमा साउनदेखि नै दुईपांग्रे सवारीको आयात बढ्दै गएको थियो ।

नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार कोरोना संक्रमणपछि निजी सवारीप्रतिको आकर्षण थप बढेको छ । ‘तथ्यांकले भने जस्तो त्यति ठूलो संख्यामा सवारी बढेको हो कि होइन भनेर हेर्नैपर्छ तर निजी सवारीको माग भने बढ्दै गएको छ,’ उनले भने, ‘बजेटपछि चारपांग्रे सवारीको माग पनि बढ्दो देखिएको छ ।’

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले पनि सवारीसाधनको माग बढेको बताए । विदेश जाने क्रम घटेको, कोरोनापछि सार्वजनिक यातायातमा संक्रमणको जोखिम भएकाले दुईपांग्रे सवारीको विक्री बढेको उनले बताए । ‘बीचमा बन्दाबन्दी भएका कारण १२ महीनाको विक्री ९ महीनामा खुम्चिएकाले पनि महीनाअनुसार धेरै बढेको देखिएको हो तर समग्रमा भने सामान्य वृद्धि भएको हो,’ उनले भने ।

यो अवधिमा कुल वैदेशिक व्यापार २४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको निर्यात ३८ प्रतिशतले बढेको छ भने आयात २६ प्रतिशतले बढेको विभागले बताएको छ । विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । त्यसपछि पेट्रोल र तेस्रोमा सवारीसाधनको आयात बढेको छ । अभियानडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*