हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड १५ लाख विनियोजन

जनपत्र
१० असार २०७८, बिहीबार १५:२८

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड १५ लाख विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न साढे दुइ अर्व रुपैयाँ भन्दा बढी रकम बिनियोजन गरिएको हो ।

उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको अध्यक्षतामा भएको नगरसभा बैठकमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार अनुमान गरिएको छ ।

उपमहानगरपालिकाले राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार, सङ्घीय सरकारको अनुदानबाट १ अर्ब २ करोड १ लाख,नगर विकास कोषबाट ऋण अनुदान ९ करोड र गत वर्षको नगद मौज्दातबाट ५६ करोड रुपैयाँ बेहोर्नेगरी अनुमान गरिएको उपमेयर मिना कुमारी लामाले वताउनुभयो ।

यस उपमहानगरपालिकालाई नगरसभा पश्चात सङ्घीय तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने सामाजिक सुरक्षा, गरिबसँग विश्वेश्वर कार्यक्रम लगायतका अन्य कार्यक्रमहरुको एकल खाता कोष प्रणालीमार्फत भुक्तानी हुने भएकाले आगामी आर्थिक वर्षमा यी कार्यक्रमहरुको स्रोत समावेश गरिएको छैन ।


आगमी आर्थिक वर्षमा उपमहानगरपालिका कार्यालयले सबै भन्दा महत्वपूर्ण कामका रुपमा बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजना अन्तर्गत १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपमेयर लामाले वताउनुभयो । हेटौंडा ४ मा निर्माण हुने बहुबर्षीय योजना अन्तर्गत बहुउद्धेशीय व्यापारिक भवन निर्माण कार्य शुरु गर्न १५ करोड विनियोजन गरिएको छ।

बृह्त्तर चक्रपथ निर्माण कार्य निरन्तरता अन्तर्गत एक्लेखेत राजदेवी, मजुवा दोभानचौर खण्डको सडक स्तरोन्नतिका लागि ३ करोड विनियोजन गरिएको उहाँले वताउनुभयो । हेटौंडा १७ कठायत चोक देखि बालबोध माबिसम्मको सडक स्तरोन्नतिका लागि ३ करोड विनियोजन गरिएको छ। कर्रा करिडोर निर्माण निरन्तरताको लागि १ करोड ५० लाख विनियोजन गरिएको छ।

संघीय सरकार, प्रदेश सरकार,जिल्ला समन्वय समिति एवम् अन्य संघ संस्था हरूसंगको साझेदारीमा संचालन हुने योजनाको लागि ४ करोड ५० लाख विनियोजन गरिएको उहाँले वताउनुभयो । वडा तथा वस्ति स्तरीय पूर्वाधार योजनाको लागि ३२ करोड ७० लाख विनियोजन गरिएको छ।

नगरवासीलाई स्वच्छ खानेपानी व्यबस्थापन गर्न हेटौंडा खानेपानी व्यबस्थापन बोर्डसंग सहलगानी कार्यक्रमको लागि १ करोड ५० लाख विनियोजन गरिएको छ। आयोजनाहरु सहित पूर्वाधार विकास क्षेत्रभित्र पर्ने उर्जा, सडक बत्ति, आवास व्यबस्था, जलश्रोत सिंचाई लगायत नगर स्तरीय पूर्वाधार आयोजना संचालनका लागि १ अरब ३० करोड ४५ लाख ७६ हजार विनियोजन गरिएको उहाँले वताउनुभयो ।

त्यसैगरी हेटौंडा ११ थाना भर्याङ्ग स्थित प्रदेश सरकार संगको सहकार्यमा निर्माण हुने प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रको लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। रोजगार प्रवर्द्धन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम र यूवा रोजगारीको लागि रुपान्तरण पहल कार्यक्रमका लागि १ करोड ५३ लाख विनियोजन गरिएको छ।

कृषि विकास अन्तर्गतका कार्यक्रमका लागि २ करोड २४ लाख ५० हजार, पशुपंक्षी विकास अन्तर्गतका कार्यक्रमको लागि २ करोड २४ लाख विनियोजन गरिएको छ। उद्योग विकास, सहकारी क्षेत्र र वित्तीय क्षेत्र अन्तर्गतका कार्यक्रमको लागि १ करोड २७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।

गुम्बा डांडा, कुष्माण्ड सरोवर त्रिवेणीधाम, टोनी हेगन पार्क,जुरेथुम पर्यटकीय पार्क, स्वर्गिय बिपि गणेशमान स्मृति पार्क लगायतका पर्यटकीय पूर्वाधार योजना निर्माणका लागि २ करोड १९ लाख विनियोजन गरिएको उपमेयर लामाले वताउनुभयो ।मेयर हरि बहादुर महतले बजेट छलफलका लागि केहीदिनका लागि स्थगित गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*