काभ्रेमा महिलाहरुले सञ्चालन गरेको होमस्टेमा स्थानीय परिकारहरूको स्वाद

जनपत्र
८ असार २०७८, मंगलवार ०८:४१

काभ्रे । महिलाहरूले आर्थिक उत्थानका लागि सञ्चालनमा ल्याएको होमस्टे हो काभ्रेपलाञ्चोक जिल्लाको पनौती होमस्टे । घरमा सीमित महिलालाई आर्थिक अवस्था सुधार्नका लागि होमस्टे सञ्चालनमा ल्याइएको बताउँछिन् होमस्टेकी अध्यक्ष शीला अमात्य । होमस्टेमा १७ वटा घर संचालनमा छन् ।

होमस्टेमा ८० जनासम्मको क्षमता छ । ऐतिहासिक पनौती क्षेत्रमा मठ, मन्दिर आदि पुरातात्विक वस्तु अवलोकन गर्न सकिन्छ । यो होमस्टेमा स्थानीय संस्कृतिसँग पाहुनाहरूलाई घुलमिल गराउँदै स्थानीय परिकारहरूको स्वाद चखाइन्छ । पाहुनालाई जात्रा एवं धान रोप्ने काममा सहभागी गराई स्थानीयको काममा सामेल गराइन्छ । यो होमस्टेमा बस्दा हाइकिङसमेत गर्न सकिन्छ । पनौती, साँगा, नमोबुद्धमा हाइकिङ गर्दै रमाइलो गर्न सकिन्छ । यहाँ एक रात बिताउँदा १७ सय खर्च गर्नुपर्ने हुन्छ । यसमा लन्च, ब्रेकफास्ट समावेश गरिएको हुन्छ ।

तीन वर्षअघि चुलोचौको र घरायसी काममा मात्र व्यस्त हुने पनौतीकी शिला अमात्यलाई अहिले भ्याइनभ्याई छ । टोलमा १५ जना महिलाको समूह गठन गरी पातलेखेत होमस्टे खोल्न अगुवाइ गरेकी उनको अहिले दिनचर्या नै बदलिएको छ । अमात्य भन्छिन्, ‘आम्दानीसँगै हामी गृहिणीहरूले विदेशी भाषा, संस्कृति र प्रविधिबारे जान्ने मौका पाएका छौँ ।’ पातलेखेत होमस्टेमा १८ परिवार आबद्ध छन् । भूकम्पपछि केही समय सुनसान भए पनि अहिले चहलपल बढेको छ ।

होमस्टे समितिका अध्यक्ष केशव बडालका अनुसार स्वच्छ हावापानी, मनोरम हिमशृंखलाको अवलोकन गर्दै स्थानीय कला, संस्कृति र भेषभुषामा रमाउन पर्यटक आउने गरेका छन् । काभ्रेको कोशीपारि क्षेत्रमा सुविधासम्पन्न मादनकुँंडारी होमस्टे सञ्चालनमा ल्याइएको छ । चौरी देउराली गाउँंपालिका वडा नं ७ मादन ग्यागडाडामा गाउँंपालिकाकै पहिलो सुविधासम्पन्न होमस्टे सञ्चालनमा ल्याइएको हो ।

होमस्टे चार कोठे रहेको छ । कोशीपारि क्षेत्रलाई कृषि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न होमस्टे सञ्चालनमा ल्याइएको चौरीदेउराली होमस्टे सचालन समितिका संयोजक ज्ञानबहादुर लामाले बताए ।

यहाँबाट नमोबुद्ध, धुलिखेल र भकुण्डे तथा पाँचखालसम्म हाइकिङ पनि जान मिल्छ । धुलिखेलका महँगा होटेलको तुलनामा सस्तोमा स्तरीय सेवा होमस्टेमा उपलब्ध छ । सात दिनको प्याकेजमा गाउँलेको घरमा जे पाक्छ, त्यही पर्यटकलाई खुवाउने गरिएको छ । ग्रामीण परिवेश र उनीहरूलाई नौलो लागेको काम सिकाउने भएकाले पनि पातलेखेत होमस्टे धेरैको आकर्षणको केन्द्र बनेको छ । गाईभैंसी दुहुने, खेतबारीको काम र प्राकृतिक सौन्दर्यमा पर्यटक हराउने गरेका छन् ।

यस्तै, पनौती नगरपालिकाका १५ जना महिलाको समूहले पनि होमस्टे सञ्चालन गर्दै आएको छ । पनौती कम्युनिटी होमस्टेकी अध्यक्ष पनि शिला नै हुन् । उनका अनुसार विदेशीलाई स्थानीय परमपराअनुसार फूलमाला, नाचगान र बाजा बजाएर स्वागत गर्दै नेपाली खाना, कला, संस्कृति र परम्परा देखाइन्छ । यो होमस्टे तीन वर्षअघि आमाहरूको समूहले सञ्चालन गर्दै आएको हो । पनौती ४ की बिनु अमात्य खुशी हुँदै भन्छिन्, ‘घरमै बसेर आत्मनिर्भर भएका छौँ ।’ पर्यटकसँग घुलमिल हुन सहज होस् भनेर बुढेसकालमा अंग्रेजी सिकिसकेका उनीहरू उमेरले छेक्दैन भन्ने उदाहरण बनेका छन् । पछिल्लो समय पर्यटकलाई आकर्षण गर्न आफ्नै लगानीमा साँगा भञ्ज्याङ हुँदै पनौतीसम्म हाइकिङ रुट सञ्चालनमा ल्याएका छन् ।

होटेलभन्दा रमणीय र सहुलियत सुविधा पाउँदा पनौती होमस्टेमा आएका स्विजरल्यान्डका रोल्स ओइभर दंग थिए । उनी भन्छन्, ‘ठूला र महँगा होटेल हाम्रो देशमा पनि छन् तर यस्तो रमणीय होमस्टे छैन,’ उनी भन्छन्, ‘होमस्टेबाट यहाँको कला, संस्कृति, भाषाभेष, खानपानमा रमाउन पाउँदा सोचेभन्दा बढी आनन्द प्राप्त गर्ने भयो ।’ रोयल माउन्टेन ट्राभल काठमाडौंको समन्वयमा होमस्टेमा पर्यटकहरू पठाउन बुकिङ गर्ने गरिरहेको छ । ट्राभलका प्रबन्धक शिव ढकालका अनुसार पर्यटकहरूलाई इन्द्रेश्वर मन्दिर, नमोबुद्ध, मल्पी, लायकु दरबार, त्रिवेणी घाट, बल्थलीलगायत अवलोकन गराइन्छ ।

पनौती पर्यटन विकास केन्द्रले पनि होमस्टे सञ्चालनमा सहयोग पुर्‍याउँदै आएको छ । धुलिखेल, नमोबुद्ध, कुशादेवी, नगरकोट, बल्थलीलगायत स्थानमा पनि होमस्टे सञ्चालनमा आएका छन् । काभ्रेमा होमस्टेबाट पाँच हजारभन्दा बढीले रोजगारी पाइरहेको उद्योग वाणिज्य संघले जनाएको छ । संघले पनि होमस्टे विकास र प्रबद्र्धनका लागि तालिमलगायत सहयोग गर्दै आएको छ ।पर्यटकको आगमन बढेसँगै स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुको माग बढेको छ । होमस्टेमा आएका पाहुनालाई अर्गानिक ताजा तरकारी र मासु आवश्यक पर्ने भएकाले व्यावसायिक तरकारी खेती र पशुपालन फस्टाएको स्थानीय रेशम तामाङ बताउँछन् ।

उनी नियमित रूपमा होमस्टेलाई तरकारी र मासु उपलब्ध गराउँछन् । नालधुमका वसन्त हुमागाईं होमस्टेमा आउने विदेशी पर्यटकलाई गाइड गरेर मासिक ४० देखि ५० हजारसम्म कमाउँछन् । पनौती ४ की ४३ वर्षीया अम्बिका आचार्य भन्छिन्, ‘साधारण घरायसी खर्च र व्यवहार टार्नसमेत परिवार र श्रीमान्को भर पर्नुपर्ने बाध्यता थियो, अब हामी आफैं आत्मनिर्भर भएका छौँ ।’

विशेषगरी विदेशी पाहुनाहरूका लागि लक्षित गरेर र ग्रामिण पर्यटनलाई बढवा दिने उद्देश्यले खोलिएका होमस्टेहरू आजभोलि स्वदेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्न पुगेको छ । त्यस्तै मध्येको एक हो– काभ्रेको पात्लेखेत–५ मा रहेको पात्लेखेत होमस्टे । यो समुदायबाट सञ्चालित होमस्टे हो । जहाँ पुग्नलाई काठमाडौंबाट लगभग ४२ किलोमिटरको दूरी पार गरे पुग्छ । हुन त काभ्रेपलाञ्चोकमा यस्ता धेरै ठाउँहरू छन्, जुन ठाउँमा पुग्न आन्तरिक तथा बाह्य पर्यटकहरू लालायित हुन्छन् । यस्तै मध्येको एक हो– पात्लेखेत ।

काठमाडौंबाट लगभग ३० किलोमिटरको दूरीमा रहेको धुलिखेल पर्यटकीय गन्तव्य हो, जहाँ सुविधा सम्पन्न र आधुनिक होटलमा पर्यटकको स्वागत गरिन्छ, त्यसैअनुसार आधुनिक खान–पिन र बसोबासको व्यवस्था हुन्छ । तर त्यहाँबाट १२ किलोमिटर मात्र टाढा रहेको पात्लेखेत होमस्टे यस्तो ठाउँ हो, जहाँ विशुद्ध ग्रामिण जनजीवन छ, स्थानीय कला–संस्कृति छ र प्राकृतिक ९अर्गानिक० खानपान यहाँको विशेषता हो । त्यसैले त वि।सं। २०६८ सालबाट सुरु भएको पात्लेखेत होमस्टेमा अहिलेसम्म ताइवानबाट मात्र १५ ग्रुप पर्यटकहरूले यस ठाउँको भ्रमण गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*