देउवाले फकाउन थाले निधिलाई

जनपत्र
७ असार २०७८, सोमबार ०६:२७

भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने भएपछि सभापतिमा दोहोरिने मनासयका कारण घनिभूत छलफलमा जुट्न थालेका छन्, कांग्रेस सभापति शेरबहादुर देउवा । देउवाले सभापतिमा आफूलाई सबैभन्दा बलियो मानेका मात्र छैनन्, आवश्यक तयारीका लागि शनिबारबाट नै दैनिक आफ्नो निवासमा आफूनिकट नेताहरुसँग छलफलमा जुटेका छन् । प्रदेशअनुसार आफूनिकट कांग्रेस नेताहरुलाई बोलाएर महाधिवेशनको तयारी गर्न र आफूलाई सघाउन उनले अनुरोध गरिरहेका छन् ।

तर, उनका लागि यसपटक सभापतिमा अन्योलको वातावरण बनाएका छन्, उनीनिकट विमलेन्द्र निधिले । १३ औं महाधिवेशनमा आफूलाई सहयोग गरेका निधिले यसपटक पनि सहयोग गर्नेमा देउवा अहिलेसम्म ढुक्क छन् । निधिले यसपटक आफू नै सभापतिको उम्मेदवार हुने दाबी गर्दै आएका छन् । केही समयअघि देखि नै निधिले सभापतिमा तयारीका लागि काठमाडौंमा एक कार्यालय पनि सन्चालनमा ल्याइसकेका छन् । यति सबै हुँदा पनि देउवा अबको महाधिवेशनमा सभापतिमा निधिले आफूलाई सहयोग गर्नेमा निश्चिन्त देखिएका छन् ।

फलतः उनले शनिबार आफ्नो निवासमा प्रदेश २ का आफूनिकट कांग्रेस नेताहरुसँगको छलफलमा पनि निधिलाई आफूलाई सघाउन अनुरोध गरेका थिए ।

‘निधिले यसपटक आफू उम्मेदवार नभए कांग्रेसमा पुस्ता हस्तान्तरणको बहस कमजोर हुनेसमेत बताउन थालिसकेका छन्,’ कांग्रेसका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘उनी सभापतिमा आफू उठ्न चाहन्छन् र यसबारे परामर्शमा जुटिसकेका छन् । अहिले दैनिक उनले कांग्रेसका केही प्रभावशाली नेताहरुलाई सम्पर्क गरिरहेका छन् ।’ अर्कोतिर देउवाले निधिलाई फकाउन पनि थालिसकेको उनले बताए ।

‘निधिलाई १५ औं महाधिवेशनमा आफूले पनि सहयोग गर्ने र अहिले निधिले समस्या उत्पन्न गरे आफ्नो समूह कमजोर हुने देउवाले बुझिसकेका छन्,’ ती कांग्रेस केन्द्रीय सदस्य भन्छन्, ‘त्यसैले उनले निधिलाई फकाउन थालिसकेका छन् । कतिसम्म भने संसद पुनस्र्थापना भयो भने निधिलाई कुनै विशेष मन्त्रालयको जिम्मेवारी दिन पनि देउवा तयार भइसकेका छन् ।’

देउवाले निधिलाई फकाउनु पर्ने र आफ्नो समूहमा थप फुट ल्याउनबाट जोगाउनु पर्ने उनीनिकट नेताहरुले सल्लाह पनि दिन थालेका छन् । देउवानिवासमा आइतबार पुगेका नेताहरुले देउवाले सबैभन्दा पहिले निधिको विषयमा निष्कर्ष निकाल्नु पर्ने सल्लाह तथा सुझाव दिएको छलफलमा सहभागी एक नेताले फरकधारलाई बताए । फरकधारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*