मकवानपुरको चित्लाङमा होमस्टेमा बस्दाको आनन्द

जनपत्र
५ असार २०७८, शनिबार २०:०८

चित्लाङ । मकवानपुरको एउटा ऐतिहासिक गाउँ हो, चित्लाङ । हरियाली प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्दै चित्लाङ पुग्दा होमस्टेमा गरिने न्यानो स्वागतले चित्लाङको चिसो सजिलै पचाउन सकिन्छ । यात्राको थकान पनि क्षणभरमै दूर हुन्छ ।
दिनभर शान्त र शीतल वातावरणमा मनोरम प्राकृतिक दृश्यावलोकनका साथै ऐतिहासिक सांस्कृतिक महत्वको गाउँ भ्रमण, होमस्टे र रिसोर्टमा क्याम्प फायरदेखि नाचगान, चुस्कीको चियर्समा रमाउनेलाई गाउँमै उत्पादित नास्पातीको रक्सी र वाइनदेखि अन्तर्राष्ट्रिय ब्रान्डसम्मको सुविधा, कुलेखानीको माछादेखि करेसामा रोपिएका साग, चनालगायत जाँतोमा पिँधेको अन्नको स्वाद चाख्न पाउँदा जोकोहीले चित्लाङ भ्रमण अविष्मरणीय नै बनाएर फर्कन्छन् ।

आफूसँग थोरै फूर्सदको समय छ र त्यसलाई कसरी मनोरञ्जनात्मक बनाउने भन्ने सोचिरहनुभएको छ भने तपाईंको लागि चित्लाङको एक दिन एक रातको बसाइ नै काफी छ । शनिबारको एक दिनको फुर्सदलाई सदुपयोग गर्दै काठमाडौं र हेटौंडाबाट चित्लाङमा रमाउन सयौं पर्यटक यहाँ आइपुग्ने गर्छन् । शुक्रबार दिउँसो हिँडेर साँझ चित्लाङमा बास बसी भोलिपल्ट ईन्द्रसरोवरमा डुङ्गा सयर गरी बेलुका काठमाडौं फर्कन सकिन्छ । भोलिपल्ट पनि बस्न चाहे ईन्द्रसरोबर तालकै छेउ मार्खुमा मनोरम वातावरणमा बस्न सकिन्छ ।

पर्यटकीय हिसाबले पछिल्लो समयमा निकै चर्चामा रहेको चित्लाङको आफ्नै इतिहास र विशेषता छ । पहिले चित्लाङको नाम चित्रापुर थियो । चैत्य जाने बाटो भएकाले चैतलाङ भन्दै पछि चित्लाङको रुपमा चिनिन पुगेको इतिहासविद्हरूको भनाइ छ । चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतिर महाभारत शृङ्खला छ । मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिका–१० मा रहेको चित्लाङ गाउँ लिच्छवीकालदेखिकै परिचित गाउँ मानिन्छ । काठमाडौंबाट तराई आउजाउ गर्नेहरू चन्द्रागिरी डाँडो पार गरी चित्लाङ हुँदै आउजाउ गर्थे । त्यसयताको मल्लकालीन राजा, राणाहरू पनि तराई आउजाउ गर्न चित्लाङकै बाटो प्रयोग गर्थे । आउजाउ गर्दा रात परेपछि उनीहरू चित्लाङमा नै रात बिताउने गरेको पनि स्थानीय बुढापाका बताउँछन् ।

चित्लाङ राजा अंशु वर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँ पनि भनिन्छ । द्वापरयुगमा सप्तऋषिहरूले नुहाउने सप्तश्री धारा पनि चित्लाङको महत्वपूर्ण सम्पदा हो । विक्रम सम्बत ३ सय १६ मा सम्राट अशोकले बनाएको अशोक चैत्य चित्लाङमा पर्यटक लोभ्याउने अर्को सम्पदा हो । अशोक चैत्य र किराँत राजाहरूले बनाएका तीन गजुरको मन्दिर र विभिन्न शिलालेखका कारण इतिहासका अध्ययनकर्ता पनि चित्लाङ पुग्ने गर्छन् ।

चित्लाङको आफ्नै मौलिक परम्परा छ । ऐतिहासिकता, प्राकृतिक सुन्दरता, सभ्यता र संस्कृतिबारे बुझ्न चित्लाङ जानैपर्ने देखिन्छ । बाहै्र महिना चिसो भइरहने ठाउँ, हरिया फाँट र हरिया जंगल नियाल्दै स्थानीय स्तरमै उत्पादित खानाको स्वादका कारण पर्यटक आकर्षित हुन्छन् । द्वापरयुगमा सप्तऋषिहरूले नुहाउने सप्तऋषी धारामा नुहाएर पनि आनन्द लिन सकिन्छ । पर्यटकलाई स्थानीयले गर्ने व्यवहारबाट पनि धेरै जना प्रभावित हुन्छन् । गाउँमा आउने पर्यटकलाई होमस्टेमा नाङ्लामा सगुन र नास्पातीको लोकल रक्सीले स्वागत गर्ने परम्परा छ । पर्यटकहरूका लागि प्रशस्त होमस्टेदेखि सुविधा सम्पन्न रिसोर्टहरू पनि खुलेका छन् । चित्लाङमा अहिलेसम्म खाना र बासको छुट्टै मूल्य निर्धारण गरिएको छैन ।

आउने पाहुनालाई खाजा, खाना र बास बसाई गाउँ घुमाइदिएपछि होमस्टेले प्रतिव्यक्ति एक हजारदेखि एक हजार पाँचसयसम्म सेवा शुल्क लिन्छन् भने रिसोर्टहरूले एक हजार पाँच सयदेखि ३ हजार रुपैयाँसम्म शुल्क लिन्छन् । चित्लाङमा लोकल बाख्राको दूधबाट बनेको चीजको पनि स्वाद लिन सकिन्छ ।

चित्लाङ बलिया र बहादुरहरूको गाउँ पनि हो । तत्कालीन समयमा राणाहरूले प्रयोग गर्ने गाडी बाटो अभावका कारण भीमफेदीदेखि काठमाडौंसम्म बोकेरै पुयाउनुपर्ने हुन्थ्यो । सो गाडी बोक्नेमध्येका अधिकांश चित्लाङकै थिए । चित्लाङका धनबहादुर गोले, मार्खुका जयबहादुर घिसिङ, सर्वाङका कान्छा वाइवालगायत तामाङ जातीका मानिसहरू कयौं दिन लगाएर राणाको गाडी बोक्न खटिने गरेको स्थानीय बुढापाकाको भनाइ छ ।

चन्द्रागिरीमा केबलकार चलेदेखि चित्लाङमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको चित्लाङ अग्र्यानिक भिलेज रिसोर्टका सञ्चालक देवेन्द्र नेपाल बताउँछन् । चन्द्रागिरी घुम्न आउने पर्यटकहरू चित्लाङमा बस्नको लागि आइपुग्ने गरेको नेपालले सुनाए । २०६८ सालमा पहिलो पटक चित्लाङमा चार वटा होमस्टे सञ्चालनमा ल्याई पर्यटकको सेवा सुरु गरिएको थियो । हाल चित्लाङमा दुईवटा रिसोर्ट र १९ वटा होमस्टे सञ्चालनमा रहेका छन् ।

पहिलेपहिले शुक्रबार र शनिबार मात्र चित्लाङमा पर्यटकको भीड हुने गरेकोमा अहिले भने सातै दिन उत्तिकै पर्यटक आउने गर्छन् । शुक्रबार र शनिबार भने पर्यटकको चाप धेरै हुने भएकाले टेन्ट गाडेर बास बसाउने गरिएको अर्गानिक भिलेज रिसोर्टका म्यानेजर उत्तम गुभाजू बताउँछन् । मकवानपुरको पर्यटकीय नगर थाहा नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि होमस्टेलाई व्यवस्थित गर्न थालिएको छ। प्राकृतिक सौन्दर्यले भरिएको थाहा नगरमा आउने पर्यटकहरुलाई लामो समयसम्म बसाउन र बसाईलाई आकर्षक बनाउन होमस्टेलाई व्यवस्थित गर्न थालिएको हो।

थाहा नगरको एउटा सिङ्गोे गाउँ नै होमस्टेको रुपमा विकासित हुदैंछ। थाहा नगरपालिका–९ को सिङ्गो चित्लाङ गाउँलाई नै होमस्टे गाउँको रुपमा विकास गरिन लागेको हो। बाख्रा फार्म तथा बाख्राको दुधबाट बनेको चिज चित्लाङको विशेषता हो। ‘अब होमस्टे गाँउको रुपमा पनि विशेषता बन्नेवाला छ’ स्थानीय माइती घलेले भनिन्।

थानकोट–चन्द्रागिरी केवलकार सञ्चालनमा आएपछि र मोटरबाटोको पहुँच भएपछि चित्लाङमा आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढेको छ। चित्लाङमा पर्यटकको आवागमन बढेकाले होमस्टेको संख्या पनि थपिँदै गएको हो। अहिले २० वटा भन्दा बढी होमस्टे सञ्चालनमा छन्। १ वर्ष अघि ४ वटा होमस्टे थियो। तत्कालिन जिल्ला विकास समितिको विशेष पहलमा ति होमस्टेहरु खुलेका थिए।
‘शुक्रबार र शनिबार होमस्टेमा बस्न आउने भए अग्रिम बुकिङ गर्नुपर्ने भइसकेको छ। अरुबार खासै चाप हुदैन’ चित्लाङमा होमस्टे सबैभन्दा पहिले सुरु गरेका गुर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न मानन्धरले भने। ‘कहिले त बस्ने ठाउँ नपुगेर टेन्ट गाडेर राख्नुपर्ने स्थिती हुन्छ’ उनले भने।

मासिक रुपमा २ सय जना सम्मलाई आफूले सेवा दिने गरेको मानन्धरले बताए। होमस्टेको दर प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँसम्म छ। होमेस्टे सञ्चालकहरुले मासिक रुपमा ७० हजारसम्म कमाउने गरेका छन्। होमस्टेमा आउने आन्तरिक एवं बाहय पर्यटकलाई स्थानीय स्तरमा नै उत्पादन भएको बस्तुहरुले उपलब्ध गराउने गरिन्छ। होमस्टेका पाहुँनालाई चित्लाङमा उत्पादन गरिएका खाद्यवस्तु मात्रै खान दिईने गरिएको होमस्टे सञ्चालकहरु भनाई छ।
होमस्टेबाट विदाई हुने बेला पनि स्थानीय सञ्चालकहरुले शुभयात्राको कामना सहित सगुन र टिका लगाई विदाई गर्ने गर्छन्। आन्तरिक एवं बाह्य पर्यटक बाक्लो रूपमा आउन थालेकाले केही होमस्टेहरू रिसोर्टका रूपमा विकास हुँदै गएका छन्।

तत्कालिन राणा सरकारका प्रमुखहरु सिकार खेल्न आउँदा शासकहरुले आराम गर्नको लागि स्थानीय बासिन्दाको घर र सामाग्री प्रयोग गर्ने जसबापत सरकारको तर्फबाट केहि पैसा, गहना दिने चलनबाट घरमा पाहुना राख्ने अर्थात होमस्टेको सुरुवात भएको स्थानीय अगुवाहरुको भनाई छ।

तत्कालिन जिविस मकवानपुरको सहयोगमा २०६८ स्थानीयले चार होमस्टे स्थापना गरेपछि व्यवसायिक रुपमा चित्लाङमा होमस्टे चलेको हो। राणाहरुको शासनकालमा चित्लाङको हावा स्याँठ लिन घर समेत बनाएको स्थानीयहरुको भनाई छ। उक्त घरलाई अहिले पनि स्याँठ घर भनेर चिनिन्छ।

गुर्जुधारा होमस्टे अगाडी रहेको गुर्जुधारामा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘यात्री’ कविता लेखेका थिए। जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको चित्लाङमा ऐतिहासिक तथा साँस्कृतिक महत्व झल्कने धेरै बस्तुहरु भएता पनि प्रचार हुन नसकेको गुनासो गरे। प्रदेश सरकारले प्रदेशको उत्कृष्ट १० गन्तव्यमा मकवानपुरको थाहा नगर सूचीकृत छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*