हेर्दाहेर्दै मेलम्ची बजार यसरी बगर बन्यो
मेरो घर सिन्धुपाल्चोक, मेलम्ची–११ बजारमै पर्छ । पेसाले बैंकमा जागिरे हुँ । असार १ गते बेलुकी साढे पाँच बजे बैंकका म्यानेजर सरलगायत एक/दुईजना अरु साथीसँगै खाजा खाएर रोमन भाइको घरमा बसिरहेका थियौँ। रोमनको बुबा र मेरो बुबा इन्द्रावती तेस्रो जलविद्युत आयोजनामा जागिर गर्नुहुन्छ ।
रोमनको बुबाले फोन गरेर बाढी आएको छ भन्नुभयो । हामीले सामान्य त होला नि भनेर खासै वास्ता गरेनौँ । त्यसपछि फेरि मेरो बुबाले पनि फोन गरेर ठूलो बाढी आएको र घर छाडेर बाहिर जान भन्नुभयो। बाहिर निस्केर हेर्दा त साँच्चिकै डरलाग्दो गरी इन्द्रावती खोला उर्लेर आएको रहेछ । मेरो घर बजारमा चोकमै पर्छ । त्यसपछि म घर फर्किएँ ।
खासै असर गर्दैन होला भनेर घरमै बसेको थिएँ । एकछिनपछि मेलम्ची खोला पनि माथि थुनिएको छ भन्ने समाचार आयो । त्यसपछि घरमा बसिरहने अवस्था रहेन । हामी सबै घर छाडेर माथि डाँडामा गएर बस्यौँ । खोलामा पानीको मात्रा बढ्दै गयो । साढे एघार बजेतिर मेलम्ची र इन्द्रावती दुवै उर्लेर आए । चारैतिर डरलाग्दो गरी खोला कराएको आवाज सुनिन थाल्यो ।