बागमती प्रदेशका ६ अस्पताललाई कोरोना नियन्त्रण र उपचारका लागि साढे २ करोड

जनपत्र
५ असार २०७८, शनिबार १२:४०

हेटौंडा — वाग्मती प्रदेश सरकारले मातहतका ६ वटा अस्पताललाई कोरोना नियन्त्रण र उपचारका लागि २ करोड ५५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबारको बैठकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत ६ अस्पताललाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेललको अध्यक्षतामा बसेको बैठकले दोलखाको सिंगटी अस्पताललाई २० लाख, धुलिखेल अस्पताल मातहत नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई ३० लाख, भक्तपुरको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई ३५ लाख, काठमाडौंको मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई ५० लाख र भक्तपुरकै ख्वपः अस्पताललाई १ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

यसैगरी, बैठकले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपीडितहरूका लागि तत्काल आवश्यक खाद्यान्न सामग्री जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोक पठाउने निर्णय पनि गरेको छ । मनसुनबाट हुने क्षति रोकथाम एवम् उद्धारका लागि प्रदेश आपत्कालीन केन्द्रअन्तर्गत गोदामघरमा भएको उद्धार सामग्री प्रदेश प्रहरीको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे र दोलखाका जिल्ला प्रहरी कार्यालयमा तत्काल पठाइने भएको छ ।

समितिले प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रकम थप गर्न आर्थिक मामिला मन्त्रालयलाई पत्राचार गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि विपद् व्यवस्थापन गर्न १० करोड बजेट विनियोजन गरेको छ । इकान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*