मकवानपुरको दुर्गमबाट कोरोना खोप फिर्ता, हेटौंडामा हानथाप

खोप लगाए मरिन्छ भन्ने भ्रमका कारण वृद्धवृद्धा खोप केन्द्रसम्म नआएको स्वास्थ्यकर्मीको भनाइ
जनपत्र
४ असार २०७८, शुक्रबार ०७:५२

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा कोरोना भाइरसविरुद्धको खोप लगाउन अहिले हानथाप छ । लक्षित समूहभन्दा पनि पहुँचवालाहरू खोपका लागि स्वास्थ्यकर्मीलाई दबाब दिइरहेका छन् । तर मकवानपुरका दुर्गम गाउँका ज्येष्ठ नागरिकले भने खोप लगाउन रुचि मात्र नदेखाएका होइनन्, खोप लगाउनु पर्ला भनेर घरबाटै भागेका छन् । दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा पठाइएको खोप खपत नभएर स्वास्थ्य कार्यालयमा फिर्ता पठाइएको छ ।

सरकारले जेठ २५, २६ र २७ मा देशभर ६२–६४ वर्षका ज्येष्ठ नागरिकका लागि भेरोसेल खोप दिने अभियान चलाएको थियो । जसअन्तर्गत मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका–७ धिराङस्थित स्वास्थ्य चौकीमा २० वटा खोप पठाइएकोमा ११ जनाले मात्र लगाएका छन् । ‘अरू खोप लगाउनै आएनन्,’ स्वास्थ्य चौकी प्रमुख अन्जना चेपाङले भनिन्, ‘खोप लगाउनुपर्छ भनेर केही ज्येष्ठ नागरिकहरू घरै छोडेर अन्यत्र भागे ।’

६४ वर्षीय आइतलाल मोक्तानलाई आफैंले भेटेर खोप लगाउन आउन भने पनि उनी त्यही दिन छोरीको घर चितवनतर्फ गएको अन्जनाले सुनाइन् । ‘यो खोप लगाए मरिन्छ भन्ने भ्रम यहाँ छ,’ उनले भनिन्, ‘खोप हाल्नुपर्छ भनेर सम्झाउन खोज्दा पटक्कै सम्झिँदैनन् ।’

राक्सिराङ–६ सिलाधुनीस्थित स्वास्थ्य चौकीमा पनि २० जना ज्येष्ठ नागरिकका लागि खोप पठाइएकोमा आधा खोप फिर्ता भएको छ । ‘खोप लगाउन आउनुहोस् भन्दा यहाँ वृद्धवृद्धाहरू डराएर भागे, बल्लबल्ल १० जनालाई फकाएर खोप लगाइयो,’ स्वास्थ्य चौकी प्रमुख सूर्यबहादुर थिङले भने । धिराङ र सिलाधुनीका मात्र होइन, जिल्लाका अन्य दुर्गम भेगमा पनि अवस्था उस्तै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोपमाथिको भ्रम निवारण हुन नसक्दा यस्तो अवस्था आएको कार्यालयले औंल्याएको छ । इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*