निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो, ६६ प्रतिशत कर्जा घरजग्गाको धितोमा
काठमाण्डाै – चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप र कर्जा प्रवाह दुवै बढेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार निक्षेप १४ दशमलव ३ प्रतिशतले बढेको छ ।
यस्तै २०७८ वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ दशमलव २ प्रतिशत, ३४ दशमलव ३ प्रतिशत र ४९ दशमलव ४ प्रतिशत रहेको छ । वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४० दशमलव ९४ प्रतिशत रहेको छ ।
१० महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २३ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको साउनदेखि वैशाखसम्म यस्तो कर्जा जम्मा ११ दशमलव १ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २४ दशमलव १ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह २५ दशमलव ३ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ८ दशमलव ६ प्रतिशतले बढेको छ ।
वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६५ दशमलव ९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव ४ प्रतिशत कर्जा चालु सम्पत्तिको धितोमा प्रवाह भएको छ ।
दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३८ दशमलव ३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७ दशमलव ४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १५ दशमलव १ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४ दशमलव ६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २२ दशमलव ५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १७ दशमलव ६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४ दशमलव ६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २७ दशमलव ७ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २० दशमलव ८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ११ दशमल ४ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७ दशमलव २ प्रतिशतले र ट्रस्ट रिसिट (आयात) कर्जा ४६ दशमलव ५ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५ दशमलव ४ प्रतिशतले घटेको छ ।