सात लाखभन्दा धेरैले काेराेना खोपको दोस्रो मात्रा पाए, अनियमितता गर्नेमाथि छानबिन हुने

काठमाण्डाै – नेपालमा अहिलेसम्म सात लाखभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा पाएका छन् । अहिलेसम्म नेपालले ४२ लाख ४८ हजार खाेप प्राप्त गरेकोमा सात लाखभन्दा धेरैलाई दोस्रो मात्रा पनि दिइएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म २४ लाखभन्दा धेरैले खाेपकाे पहिलो मात्रा पाएका छन् । यस्तै अहिले ६० देखि ६४ वर्ष उमेर समूहका लागि भइरहेको खोप कार्यक्रममा अहिलेसम्म तीन लाखभन्दा धेरैले भेरोसेल खोपको पहिलो मात्रा पाएका छन् । अहिले चलिरहेको खोप कार्यक्रममा धेरै ठाउँमा अनियमितता भएको गुनासो आएकाले यसबारे छानबिन हुने खाेप शाखाका प्रमुख डा. गाैतमले बताउनुभयो ।
चिनेजानेको भरमा र दबाबमा केही ठाउँमा खोपमा अनियमितता भइरहेको गुनासो आएकाले छानबिन हुने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो । यसका लागि समन्वय र अनुमगन समिति बनेको पनि उहाँले बताउनुभयो ।
अहिले केन्द्रबाट प्रदेश, प्रदेशबाट जिल्ला र जिल्लाबाट पालिकामा खोप पठाउने गरिएको छ । सरकारले तोकेको प्राथमिकताका आधारमा खोप नदिए त्यसको छानबिन हुने उहाँले बताउनुभयो ।
यस्तै कोरोनाविरुद्धको खोप निःशुल्क वितरण गर्ने गरिएकाले कोही कसैले बिक्री गरे वा बिक्री गर्ने प्रयास गरेको थाहा पाए नजिकैको सम्बन्धित निकायमा खबर गर्न पनि मन्त्रालयको आग्रह छ ।