खाेप अभाव : लक्षित समूहका व्यक्ति नै खाेप लगाउनबाट वञ्चित, छुटेकालाई अर्को चरणमा समेट्ने तयारी

जनपत्र
२८ जेष्ठ २०७८, शुक्रबार ०८:४७

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले भेरोसेल खोप लगाउन छुटेका ६० देखि ६४ वर्षका नागरिकलाई अर्को चरणमा समेट्ने बताएको छ । चीनबाट अनुदानमा आएको १० लाख डोज भेरोसेल खोप ६० देखि ६४ वर्षका उमेर समूहका सबैलाई दिने भनिए पनि खोपको अभाव भएपछि त्यो सम्भव नहुने भएको छ ।

खोप केन्द्रमा लक्षित समूहबाहेकका व्यक्तिहरू पनि खोप लगाउन लाइनमा बसेपछि उनीहरूलाई पनि खोप दिन बाध्य भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । यसले गर्दा धेरै ठाउँमा लक्षित समूह खोप लगाउनबाट छुटेका छन् ।

यस्तै कतिपय ठाउँमा भने लक्षित समूहलाई पुग्ने गरी खोप पठाउन नसक्दा पनि तोकिएको उमेर समूहका नागरिक खोप लगाउनबाट छुटेका छन् । स्वास्थ्य मन्त्रालयले चीनबाट आएको १० लाख डोज खोप ६० देखि ६४ वर्षका सबै नागरिकलाई नपुग्ने भएपछि अन्तिम समयमा उमेर समूह परिवर्तन गरेको थियो । काठमाण्डौ उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरका लागि ६२ देखि ६४ वर्ष उमेर समूह तोकेको थियो ।

तर अभाव भएसँगै लक्षित यो समूहका केही नागरिकले अहिले खोप नपाउने निश्चित भएको छ । स्वास्थ्य मन्त्रालयले दोस्रो मात्रा दिन पुग्ने गरी खोपको सुनिश्चितता गरेर मात्रै पहिलो मात्रा देशका ७७ वटै जिल्लामा पठाएको थियो । यसले गर्दा पहिलो मात्राका लागि माग आए पनि खोप पठाउन सक्ने अवस्था नरहेको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो ।

अहिले पहिलो मात्रा लगाएकाहरूले २८ दिनपछि दोस्रो मात्रा पाउने छन् । अहिले छुटेका लक्षित समूहका नागरिकलाई खोप आएपछि समेटिने गौतमले बताउनुभयो । अहिले खोप लगाउन छुटेकाहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई पछि समेट्ने उहाँले बताउनुभयो ।

सरकारले खोप खरिदका लागि अमेरिका, रुस, बेलायत लगायत विभिन्न देशसँग पहल गरे पनि खोप आउनेबारे अझै टुङ्गाे लागेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*