विपक्षीको मोर्चाबन्दी र आफ्नै दलबाट असहयोग भए पनि बागमती सरकारले सदनबाटै नीति तथा कार्यक्रम ल्याउँदै

जनपत्र
२७ जेष्ठ २०७८, बिहीबार ०९:५३

मकवानपुर — विपक्षीको मोर्चाबन्दी र आफ्नै दलबाट असहयोग भए पनि वाग्मती प्रदेश सरकारले सदनबाटै नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । विभिन्न माग राख्दै विपक्षी दलहरूले प्रदेशसभाको बैठकमा अवरोध सिर्जना गरिरहेका छन् । आफ्नै दलका सांसदहरूसमेत सरकारप्रति रुष्ट छन् ।

यस्तो अवस्थामा प्रदेश सरकारले बिहीबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले दिउँसो ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । मंगलबार बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको छ । नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रमा प्राथमिकतामा परेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । कार्यालयका अनुसार केन्द्रको सिको गर्दै प्रदेशमा पनि लोकप्रिय कार्यक्रम घोषणा गरिने तयारी गरिएको छ ।

प्रदेशका सबै स्थानीय तहमा स्वास्थ्य बिमा, स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास र आधुनिक मेसिन खरिद, प्रदेशले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्तामा हेरफेर, सबै विद्यालयमा विद्यालय नर्स, एक वडा एक

स्वास्थ्य केन्द्र, मकवानपुरको सिमभन्ज्याङसहित प्रदेशका १३ वटै जिल्लामा नेपाली कागज उत्पादन गर्ने उद्योग, विद्यार्थीका लागि छात्रवृत्ति अनुदान जस्ता विषयहरूले प्राथमिकता पाएका छन् । प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले स्वास्थ्य क्षेत्र सबैभन्दा बढी प्राथमिकतामा परेको बताए । उनले केही पुराना योजना पनि समेटिएको र कोरोनाको असरलाई न्यूनीकरण गर्ने गरी नीति तथा कार्यक्रम तयार पारिएको बताए ।

भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले सरकारले पुराना महत्त्वपूर्ण कार्यक्रम र योजनालाई आगामी आर्थिक वर्षमा पनि प्राथमिकतामा राखेको जानकारी दिए । मन्त्री फुँयालका अनुसार कोरोना प्रभावितलाई सहुलियतपूर्ण ऋण, एकीकृत विकास परियोजना, पाँच वर्षभित्र एक सय पुल र एक सय रणनीतिक सडक निर्माण तथा सम्पदा संरक्षणलाई पनि सरकारले नीति तथा कार्यक्रममा समेटेको छ ।

विपक्षी दल माओवादी केन्द्र, कांग्रेस, विवेकशील साझा, राप्रपा तथा नेपाल मजदुर किसान पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गरेर अगाडि बढिरहेका छन् । उनीहरूले सत्तापक्षका रुष्ट सांसदहरूलाई साथमा लिएर नीति तथा कार्यक्रम र बजेट ‘फेल गराउने’ गरी आन्तरिक तयारीसमेत गरिरहेका छन् । इकान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*