गुपचुपमै खोलीयो मजुवा खानी, ओभरबटमका कारण स्थानीयको त्रास उस्तै

दुइ बिद्यालय, वडा कार्यालय, संघसंस्था र खेतियोग्य जमिन बगरमा परिणत हुने खतरा
जनपत्र
१६ बैशाख २०७६, सोमबार ११:३३

हेटौंडा । मकवानपुर गढी गाउँपालिका वडानम्बर ५ मा मजुवा खानी बन्द गरिएको २१ दिन पछी बिना सहमती गुपचुप रुपमा संचालनमा ल्याइएको छ । स्थानीय वासिन्दाले पहिले गरेका सहमती कार्यनयन गर्नुपर्ने, खानीबाट ओभरबटम हटाएपछी मात्र खानी संचालन गर्नुपर्ने लगायतका माग राख्दै खानी बन्द गराएका थिए । तर, बिना सहमती गुपचुप रुपमा केही ब्यक्तिको स्वार्थमा खानी संचालनमा आएको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।

मजुवा खानी उत्खनन् गरेर चुनढुङ्गा हेटौंडा सिमेन्ट उद्योगमा ल्याउँदा हजारौ टिफर ओभरबटम त्यसै यत्रतत्र जंगलमा फालिएको थियो । त्यो ओभरबटम, माटो, काम नलाग्ने ढुङ्गाको ब्याबस्थापन गरेपछी मात्र मजुवा खानी संचालन गर्ने माग राखेका स्थानीय वासिन्दाले बिना सहमतीमै फेरी खानी उत्खनन् गर्दा गढी गाउँपालिका वडानम्बर ५ का वासिन्दामा त्रास फैलीएको छ । अहिले पनि मजुवा खानीमा जथाभाबि रुपमा खानी उत्खनन् गरिएको गढी गाउँपालिका वडानम्बर ५ का स्थानीय भरतप्रसाद फूयाल बताउनुहुन्छ । खानीबाट अहिले पनि धुवाको मुस्लो आउनेगरी ओभरबटम जथाभाबि फालिएको फूयाल बताउनुहुन्छ ।

ज्यामिरेमा मजुवा खानीबाट हेटौंडा सिमेन्ट उद्योगमा लगिने चुनढुङगाका टिफर बन्द गरेर २१ दिन सम्म आन्दोलन गरेको थियो । तर, बिना सहमती खानी सञ्चालनमा आएको स्थानीय बस्ति संरक्षण समितिका सचिब इन्द्रजित देबकोटा बताउनुहुन्छ । बितेको चैत ४ गते देखि स्थानीय वासिन्दा र बस्ती संरक्षण समितिले पहिले सिमेन्ट उद्योग संग भएका सहमती कार्यनयन गर्नुपर्ने, मजुवा खानीमा निकालीएको ओभरबटम तत्काल हटाउनुपर्ने लगायतका माग राख्दै आन्दोलन गरेका थिए । तर, बिना सहमती चैत २५ गते देखि मजुवा खानी संचालनमा ल्याइएको छ । त्यसपछी केही दिन देखि मजुवा खानी जथाभाबि उत्खनन् गरिएको स्थानीय वासिन्दाहरुको भनाई छ ।

आन्दोलन गर्ने ६ जनालाई जागिर दिने कच्चा सहमती

चुनढुङगा उत्खनन् र ढुवानी गर्ने ठेक्का पाएको ओमसायी कन्ट्रक्सनका संचालक होमनाथ गौतमले हेटौंडा सिमेन्ट उद्योगका जिएम प्रेमशंकर सिंहले स्थानीय ६ जना युवाहरुलाई मजुवा खानीमा जागीर दिने सहमतीमा खानी संचालनमा ल्याएको बताउनुभएको छ । सडक आन्दोलनमा चर्को रुपमा उत्रिएका युवाहरुलाई जागिर दिने सहमती भएपछी गुपचुप रुपमा खानी खन्न दिएको उहाँले बताउनुभयो । तर, सिमेन्ट उद्योगका महाप्रबन्धकले भन्दैमा पुर्ण सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योगबाट खानीमा जागिर लगाउन मिल्दैन । ६ जना युवालाई जागिर दिने मौखिक सहमती भएपनि सरकारी कार्यालयमा त्यसरी हचुवाका भरमा राख्न नमिल्ने भएपछी जियमले खानी खोल्न लगाएको आइडियानै फेल हुने भएको छ ।

अहिले सिमेन्ट उद्योगका जिएमले गढी गाउँपालिका वडानम्बर ५ कार्यालयको सिफारिस लिएर आएपछी जागिर दिने भनेर अर्को फटाहा तुरुप फालेका छन् । यता वडा कार्यालयले लिखीत रुपमा जागिर दिनुपर्ने माग राख्दै सिमेन्टमा पत्र लेख्नुपर्छ भनेर ६ जना युवाहरुलाई छल गरिरहेको छ । यदी वडा कार्यालयले त्यो पत्र दिएमा वडा कार्यालयनै उल्टै फस्ने भएपछी चिठ्ठी लेख्न आनाकानी गरिरहेको बताइएको छ । हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक सिंह भने पुर्ब तर्फको खानी उत्खनन् गरेर चुनढुंङगा ल्याउने सहमतीमा मात्र सडकमा गरिएको अबरोध खोलीएको दाबि गर्नुहुन्छ ।

मजुवा खानी उत्खनन्को डरलाग्दो रुप

हेटौंडाको मुख्य बजारबाट करिब १५ किलोमिटर उत्तरपुर्ब लागेपछी मजुवा खानी पुगिन्छ । यही खानी जथाभाबि रुपमा उत्खनन् गर्दै गर्दा यहाँ न कुनै प्राबिधिक, न कुनै बिज्ञ, एक्साभेटर चालकका भरका एउटा सिङगै डाँडाबाट एक्साभेटर चालक आफै ईन्जिनियर बनेर डाँडा कपेर पहिरो लडाई रहेका छन् । खानी भन्दा अली अली पर, चुहार, नयाँगाउँ, तल सोलीथुम, ज्यामिरे, सिमल्टार, कालिवन, धादिङका एक हजार २ सय घरधुरीका बासिन्दाहरु तलबाट डाँडा खोतलेको हेरेर बस्न मात्र बाध्य छन् ।

यो हिउँदमा सामान्य पानी पर्दा पनि खानी क्षेत्रमा पहिरो लडेको भनेर चिन्ता गर्दै गरेका अमरसिंह आधारभूत बिद्यालयका शिक्षक र बिद्यार्थीहरु अहिले पनि उत्तिकै चिन्तामा छन् । यता तल बस्तिका वासिन्दाहरुको आखा खानीमा उत्खनन् गरेर खसिरहेको माटो र त्यसमा ठुलो धुलोको मुस्लो देख्ने बित्तीकै झनै चिन्ता लाग्नेगरेको गढी गाउँपालिका वडानंम्बर ५ ज्यामिरेका स्थानिय भरतप्रसाद फुयाल बताउनुहुन्छ ।

दर्जन सरकारी संघसंस्था सहित मानब बस्ति जोखिममा

ठुलो बस्ति संगै खानी संगै रहेको शारदा माबि, ५ नंम्बर वडा कार्यालय, स्वास्थ्य चौकि, बिभीन्न संघसंस्था संगै मानब बस्ति बढी जोखिममा रहेको छ । गढी गाउँपालिका, स्थानीय वासिन्दा र यहाँको वडा कार्यालयले एकले अर्कालाई दोस लगाएर खानीबाट जताततै फालिएको ओभरबटम नियन्त्रण गर्नका लागि थप समस्या परेको छ । ठुलो बस्तिको बिचमा रहेको मजुवा खानी ब्यबस्थित रुपमा संचालन गर्नुको सट्टा जथाभाबि रुपमा प्राबिधिकको उपस्थिती बिना खानी उत्खनन् गर्ने र यहाँका गहिरा, खोल्सा, डाडैभरी ओभरबटम फाल्दा यो समस्या परेको स्थानिय वासिन्दाहरु बताउँछन् । पुर्ण सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगले खानी संचालन गर्दा पहिले स्थानिय वासिन्दा, वडा कार्यालय, गाउँपालिका कार्यालय संग गरिएका सहमती पालना गरेर मात्र खानी संचालनमा लागि माग गरिएको तर त्यसको सुनुवाई नभएको बस्ति संरक्षण समितिका सचिब ईन्द्रजित देबकोटा बताउनुहुन्छ ।

सिमेन्ट उद्योग र स्थानीय बिच यस्तो थियो सहमती

मजुवा खानी संचालन गर्नका लागि हेटौंडा सिमेन्ट उद्योग, चुनढुङगा उत्खनन् र ढुवानी गर्ने ठेक्का पाएको ओमसायी कन्ट्रक्सनले ओभरबटम ब्याबसथापन गर्नका लागि खानीमै जाली भरेर ग्रेभल निस्कनै नदिने, ज्यामिरे देखि कालिवन, सिमल्टार सम्म सिमेन्टको क्रंकिट ढलान सहितको ठुला चेकड्याम हाल्ने, स्थानिय क्षेत्रमा स्लाब ढलानको सडक निर्माण गर्ने, सिमेन्ट उद्योगले बिद्यालय स्थान्तरण गर्ने, खानी प्रभाबित घर, जग्गाको मुहाब्जा दिने लगायतका सहमती भएको छ । ती सहमती मध्यमा ज्यामिरेमा स्लाब ढलानको काम भईरहेको छ । तर बस्ति संरक्षण गर्नका लागि कुनै पनि काम नभएको स्थानिय वासिन्दाहरु बताउँछन् । स्थानियको चर्को बिरोधपछी अहिले उत्खनन् गर्दाको ओभरबटम केही ल्याएपनि खानी क्षेत्रको डाडैभरी छरिएको ग्राभेल, ढुङगा, माटोको ब्याबस्थापन गर्नका लागि ठुलै चुनौती रहेको स्थानियको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*