काठमाण्डौको न्युरोडबाट १३ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ

काठमाण्डौ – काठमाण्डौको न्युरोडबाट १३ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ परेका छन् । काठमाण्डौ महानगरपालिका–२२ न्युरोडबाट उनीहरुलाई १३ लाख ४३ हजार रुपैयाँ नगद, कौडा र ताससहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
निषेधाज्ञालाई अवज्ञा गरी अवैधरूपमा पूर्णलाल महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरको छैटाैं तलामा अजय श्रेष्ठले भाडामा लिएको कोठामा पैसाको बाजी लगाइ हारजित हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा परिसर र वृत्त जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।
पक्राउ परेकाहरुमध्ये भाग्ने क्रममा काठमाण्डौ बाफल बस्ने भक्त बलामी घाइते भएका छन् । उनको महाराजगञ्जमा रहेकाे शिक्षण अस्पतालमा उपचार भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताउनुभयो । उनीहरुलाई जुवा ऐनअनुसार महानगरीय प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।