ज्याला मजदुरी गर्नेलाई हेटौंडाको हुप्राचौरमा निशुल्क खाना

जनपत्र
१२ जेष्ठ २०७८, बुधबार १५:३०

हेटौंडा । रोटरी क्लब अफ मकवानपुरले हेटौंडाको हुप्रचौरमा निशूल्क खाना खुवाउन सुरु गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने व्यक्ति भोको बस्न नपरोस् भनी रोटरीले बुधबारदेखि निशूल्क खाना खुवाउन सुरु गरेको हो ।

बुधबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा खाना खुवाउने कार्यक्रमको सुरुवात गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष काविन सांगामीले जानकारी दिनुभएको छ । रोटरी क्लबका निर्देशक शुक्र राज जोशीको संयोजकत्वमा निशूल्क खाना खुवाउने कार्यको सुरुवात गरिएको हो । बुधबार हुप्रचौरमा ४२ जना, हेटौंडा अस्पतालमा ३५ जना र हेटौंडा–१० स्थित गोरक्षेश्वरधाममा ७ जना गरी कुल ८४ जनाले खाना खाएका छन् । रोटरी क्लब अफ मकवानपुरले निषेधाज्ञा अवधिभर बिहानको एकछाक निशूल्क खाना खुवाउने अध्यक्ष सांगामीले बताउनुभएको छ ।

निशूल्क खाना खुवाउने कार्यक्रमलाई सघाउन हेटौंडा–२ पीपलबोटका व्यवसायी प्रदीप बज्राचार्यले १० हजार १ रुपैयाँ, गोरखापत्र दैनिकका हेटौंडा संवाददाता राममणि दाहालले ५ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ताले २ हजार रुपैयाँ, रोटरी क्लब अफÞ मकवानपुरका सदस्य डा डोजेद्र बस्नेत र डा स्वेच्छा शाहले संयुक्तरुपमा ५ हजार रुपैयाँ, हेटौडा–४, स्कुलरोडका राहुल गुप्ताले एक दिनका लागि आवश्यक खाना राख्ने प्लास्टिक तथा कागजका सामग्रीहरु, एपी पेपर इण्डष्ट्रिज प्रालिका सञ्चालक विजयकुमार श्रेष्ठले १ हजार थान कागजका प्लेट सहयोग प्राप्त भएको कार्यक्रम संयोजक जोशीले जानकारी दिनुभएको छ ।

रोटरी क्लब अफ मकवानपुर स्थापनामा प्रमुख भूमिका निर्वाह गर्नुभएका पञ्चसिद्धि फाउण्डेसनका सिद्धिलाल श्रेष्ठको सहयोगमा निशूल्क खाना खुवाउने कार्यक्रमको आयोजना गरिएको हो । पहिलो दिनको खाना खुवाउने कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका कार्यक्रम समिति सदस्यहरु चुडा प्रसाद उप्रेती, सर्मेद्र पौडेल, शम्भु पुड़ासैनी, रोट्र्याक्ट क्लब अफ मकवानपुरकी सचिव रंजिता बिष्ट रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*