चितवनमा ९ महिनामा १०५ जनाले गरे आत्महत्या, महिला भन्दा पुरुष बढी

चितवनमा आत्महत्या गर्नेको संख्या भयावह बन्दै गईरहेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भने सवारी दुर्घट्नाबाट ज्यान गुमाउने र आत्महत्या गर्नेको संख्या उस्तै देखिएको छ । चालु आर्थिक वर्ष ०७५/७६ को साउनदेखी चैत्रसम्ममा चितवनमा १०५ जनाले आत्महत्या गरेका छन । जसमध्ये झुण्डिएर ९१, विष सेवन गरी १२, हाम फालेर १, औजार हतियार प्रयोग गरी १ जनाले आत्महत्या गरेका छन । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार आत्महत्या गर्नेमा महिला भन्दा पुरुषको संख्या बढी रहेको पाईएको छ । आत्महत्या गर्ने १०५ मध्ये ५४ जना पुरुष, ४० जना महिला रहेका छन । यस्तै बालक ३, बालिका ८ जना रहेका छन । अधिकांशले तनाव व्यवस्थापन गर्न नसक्दा मृत्युवरण गर्छन भने केहिले आवेगमा निर्णय गर्ने, अरुलाई घुर्काउन, आफन्तलाई देखाउन गर्ने गरेका छन । किसोर किसोरीहरुले प्रेममा धोका पाएपछि, केहिलाई भने दोस्रो व्यक्तिको व्यवहारले आत्महत्याका लागी बाध्यपार्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।