विदेशी नागरिक फर्काउन चार्टर्ड उडान

जनपत्र
३ जेष्ठ २०७८, सोमबार ०६:४५

अमेरिकी नागरिकलाई स्वदेश फिर्ता गर्न आइतबार चार्टर्ड उडान गरिएको छ । नेपालस्थित अमेरिकी दूतावासको अनुरोधमा काठमाडौं–दोहा हुँदै अमेरिकाको उडान भएको हो ।
कतार एयरवेजमार्फत आइतबार राति ८ः४५ बजेको उडानबाट २ सय १० अमेरिकी नागरिकसहित ४४ जना युरोपियन नागरिक स्वदेश फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । यसरी स्वदेश फिर्ता हुनेमा पर्यटक र कूटनीतिक नियोगका नागरिक भएको बताइएको छ । उडानको व्यवस्थापन अमेरिकी दूतावासले नभई निजी विमान कम्पनीहरुको सहकार्यमा व्यावसायिक उडान भरेको जनाएको छ । उडानको समन्वय गर्न दूतावासले संयोजनकारी भूमिका खेलेको भए पनि उडानको भाडादर र टिकट बुकिङ गर्न भने दूतावासको कुनै पनि संलग्नता नरहेको प्रष्ट पारेको छ ।
ती नागरिकहरु काठमाडौंबाट–दोहा र दोहाबाट सम्बन्धित देशको उडानमार्फत स्वदेश फिर्ता हुने छन् । सरकारले वैशाख २३ गते मध्य रातदेखि नेपाल–भारतबाहेका अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा प्रतिबन्ध लगाएको थियो ।
सरकारले कोभिड–१९ को दोस्रो लहरबाट संक्रमणको संख्यामा वृद्धि भएसँगै उपत्यकासहित मोफसलका जिल्लामा निषेधाज्ञा लगाउँदै व्यावसायिक हवाई उडानमा रोक लगाएको थियो । आन्तरिक तथा बाह्य उडानका कारण कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भएको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले हवाई उडानमा समेत रोक लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*