बागमती सरकार मातहतका अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिने

जनपत्र
३ जेष्ठ २०७८, सोमबार ०६:३२

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहतका सबै अस्पतालमा क्षमताअनुसारको अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया प्रारम्भ भइसकेको बताउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले आज प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुखहरु महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन दिँदै तत्कालका लागि अस्पताललाई आवश्यकता परेका कुराहरुको समाधान गर्न सरकारले के गर्नुपर्छ तयार रहेकोले माग राख्न अनुरोध गर्नुभयो । उहाँले पैसा अभावका कारण कुनैपनि काम नरोकिने बताउनुभयो ।

पौडेलले पैसा आवश्यक भए सरकार उपलब्ध गराउन तयार रहेको बताउँदै सबै अस्पतालका आवश्यकताहरु पूरा गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारलाई कोभिड नियन्त्रणका लागि संघीय सरकारले पूर्ण अधिकार दिएकोले कोभिड नियन्त्रणका लागि आवश्यक रकम खर्च गर्न नहिच्किचाउन अनुरोध गर्नुभयो । महामारी नियन्त्रणमा पैसा वा अन्य आवश्यकता वाधक हुननहुने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पौडेलले महामारी नियन्त्रण गर्नुनै आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले अहिले सरकारको सबै शक्ति कोभिड नियन्त्रणमा लागेको बताउँदै कुनैपनि हिसाबले यो वा उ गर्न पाइन भन्न नपाइने बताउनुभयो । आवश्यकताहरु सरकार समक्ष राख्न र तत्काल कार्यान्वयन गर्न उहाँको निर्देशन थियो ।

पौडेलले अक्सिजनको उपलब्धताका लागि सरकार लागि परेको जानकारी दिनुभयो । उहाँले प्रदेशमा आवश्यकताअनुसारको आईसोलेशन, कोभिड अस्पताल र ति अस्पतालहरुलाई आवश्यकपर्ने जनशक्तिलगायतका आवश्यकताको अभाव हुन नदिन सरकार सक्रृय रहेको बताउनुभयो ।

भिडियो कन्फेरेन्समार्फत भएको कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, सामाजिक विकासमन्त्री सरस्वती बस्नेत, सामजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारी १३ वटै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका, गाउँपालिका महासंघका अध्यक्षहरु, महानगर तथा उपमहानगरपालिकाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीहरुले कोभिड १९ ले पारेको समस्याका विषयमा जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*