चक, डस्टर छाडेर माटोसँगको मित्रता, हेटौंडामा लोभलाग्दो तरकारी खेती गर्दै मणिराज

मानवी बानियाँ
२ जेष्ठ २०७८, आईतवार १०:०५

हेटौंडा । करिब चार वर्षअघि उनको मलेसियाको भिसा लागेको थियो । आफ्नै देशमा काम नपाएपछि उनले विदेश जाने सोच बनाएका थिए । तर हाल उनी तरकारी खेतीमा मग्न छन् ।

बागमती गाउँपालिका वडा–१ का मणिराज श्रेष्ठ कुनै बेला विदेश जाने इच्छा राख्थे । विदेश गएर केही पैसा कमाएर नेपाल फर्कने उनको विचार थियो । सानै उमेरमा विवाह बन्धनमा बाँधिएका मणिराजको थाप्लोमा परिवारको जिम्मेवारीसमेत थियो ।

२०७४ सालमा उनले दुबईका लागि अप्लाई गरेका थिए । हुन त उनीसँग सिप थिएन । साथीले सुपरमार्केटमा जागिर हुन्छ भनेका थिए । तर, उनलाई दुबईको भिसा आउनुअघि मलेसियाको भिसा आयो । त्यही समयमा उनले तरकारी खेतीका लागि टनेल बनाउने काम र तरकारी फार्ममा हात हालेका थिए । त्यही व्यबसायबाट मनग्ये आम्दानी लिइरहेका आफूले भिसा आए पनि बेवास्ता गर्दै विदेश जाने योजना हराएको मणिराज सम्झन्छन् । विदेशमा भन्दा यहीं आम्दानी गर्ने र परिवारसँगै बस्ने उनको मन बन्यो ।

काठमाडौंमा तीन वर्ष टनेल बनाउने कामसँगै तरकारी खेती गरेर उनी हाल हेटौंडा–१८, हर्नामाडी ठुलोदमारमा तरकारी फार्म खोलेर बसेका छन् । राईगाँउ घर भएका मणिराजले आफ्नी पत्नी र दुई सन्तानसहित जग्गा भाडामा लिएर करिब ६ कठ्ठा जमिनमा तरकारी उत्पादन गरिरहेका छन् । हाल हर्नामाडीबासीले तरकारी चाहिएमा उनलाई सम्पर्क गर्ने गर्छन् ।

ठूलो टनेल बनाएर खेती भइरहेको फार्मले जोकसैको ध्यान केन्द्रित गर्नसक्छ । उनले काउली, बोडी, गोलभेंडालगायत तरकारी लगाएका छन् । काउली ८०, बोडी एक सय र गोलभेडा ५० रुपियाँ केजीमा बिक्री गर्दै आएका छन् । माघदेखि खेती सुरु गरेका उनले जेठबाट बिक्री गर्न थालेका छन् । यो अवधिभर करिब ६ लाख खर्च भइसकेको मणिराज बताउँछन् ।

मौसमले साथ दिएका कारण उनले लगाएका तरकारी हराभरा देखिन्छ । बिक्रीको सुरुवाती चरणमा रहेको बताउँदै मणिराजले उपभोक्ताहरु फार्ममै तरकारी लिन आउने गरेको बताउँछन् । उनले काठमाडौंबाट हर्नामाडी आएर काम गर्नुको कारण खुलाए । फार्ममा लगाइएको तरकारी डुबानमा परेपछि आफ्नै ठाउँमा फर्केको सुनाउँछन् उनी । मणिराजको टनेलमा लोभलाग्दा तरकारी फलिरहेका छन् तर बिक्री गर्ने समस्या भएकोमा उनी चिन्तित छन् ।

बजारका सबै पसलहरु बन्द छन् । कसरी बिक्री गर्ने भन्ने आफूलाई कुनै उपाय नसुझेको मणिराज दुःखेसो गर्छन् । उनले ८ कठ्ठा जग्गा भाडामा लिएका छन् । एक कठ्ठाको एक हजार पाँच सयका हिसाबले मासिक १२ हजार तिर्दै आएका छन् ।

राईगाँउमा बजारको समस्या हुने भएपछि जग्गा भाडामा लिएको उनी बताउँछन् । लकडाउनका कारण आफ्नो व्यबसायमा असर गर्ने हो कि भन्ने चिन्ता छ उनमा । यही कारण गत वर्ष यस्तै हालत भएकाले बिक्री गर्न समस्या भएको थियो । यसपालि पनि उही समस्य सामना गर्नुपर्दा विदेश जाउँजाउँ लाग्ने मणिराजको गुनासो छ ।

‘ग¥यो भने हुन्छ नेपालमा । तर, गरेर खाने वातावरण छैन,’ उनी भन्छन् । शिक्षण पेशा छाडेर तरकारी खेतीमा उनले हात हालेका थिए । ३० वर्षीय मणिराजले प्लस टुसम्म अध्ययन गरेका छन् । उनी तरकारी खेती गर्नुअघि शिक्षण पेशामा थिए । काठमाडौंको एक निजी विद्यालयमा अध्यापन गराएका उनले फुर्सद्को समय टनेल बनाउन सिक्न थालेका थिए । तर, देशको परिस्थिति हेरेर कहिलेकाँही त विदेशिन मनलाग्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*