मकवानपुरगढीमा नयाँ प्रबिधिका फलामे पुल निर्माणले प्राथमिकता पाउँदै, खोलाले मानिस बगाउने समस्याबाट मुक्ति
हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा नयाँ प्रबिधिका पुल निर्माणले प्राथमिकता पाउन थालेका छन् । छिटो निर्माण हुने र तत्काल गाउँका नागरिकलाई सहज होस भन्ने उदेस्यले फलामे पुल निर्माणलाई प्राथमिकता दिइएको छ । यसअघिका आर्थिक वर्षमा पनि फलामे पुल निर्माण गर्दा छिटो निर्माण भएको र सहज रुपमा ओहोर दोहोर गर्न स्थानीय नागरिकले पाएकाले फलामे पुल निर्माणलाई पनि प्राथमिकता दिइएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले वताउनुभयो ।
गढीमा पक्की र ठुला पुल निर्माण पनि भएका छन् । तर, फलामे पुल सहज रुपमा निर्माण गर्न सकिने र छिटो निर्माण हुने भएपछी यसलाई प्राथमिकता दिइएको अध्यक्ष हुमागाईले वताउनुभयो । गढीका ठुला खोला र साना खहरे खोलामा पुल निर्माणले तिब्रता पाएसंगै वर्षायाममा पनि ओहोर दोहोर गर्नका लागि थप सहज भएको छ । बर्षायाममा बाढीमा बग्नुपर्ने समस्याबाट मुक्ति पाएको स्थानीय वासिन्दाहरु वताउँछन् । पहिलेदेखिनै साबिकको गढी र आमभन्ज्याङ गाबिसका नागरिकले यो समस्या बेहोर्नु परेको थियो । अब भने सहज भएको उनीहरु वताउँछन् ।
मकवानपुरगढी गाउँपालिकाको ज्यामिरे खोलामा पहिले यही प्रकारको फलामे पुल निर्माण गरिएको थियो । अहिले सिमल्टारको पुछारमा सामरी खोलामा फलामे पुल निर्माणको काम भइरहेको छ । ग९का चार स्थानमा यस्तै खालका चार वटा पुल मध्य दुइवटा निर्माण भइसकेको र दुइवटा निर्माणधिन अवस्थामा रहेका छन् ।
हिजो मात्र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ र ६ जोड्न सामरी खोलामा फलामे पुल निर्माण सुरु भएको छ । शनिबार गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे र वडा नम्बर ६ का अध्यक्ष टिकाप्रसाद दाहालले भालुखोला झल्ला जोड्ने पुलको जगमा पुजा गरी पुल निर्माण कार्यको सुरुवात गर्नुभयो ।
गाउँपालिकाको झण्डै ६० लाख बजेटमा निर्माण गरिन लागेको पुल असार १५ सम्ममा सम्पन्न गरिने गरी निर्माण गरिनुपर्ने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष एक बहादुर पौडेलले बताउनुभयो । सुरुमा दुईवटा पिल्लरको काम सकेलगत्तै थप दुईवटा पिल्लरको काम गरिने उहाँले वताउनुभयो । टाटासुमो सम्म आवातजावत गर्न मिल्नेगरी फलामको पुल बनाइने जनाइएको छ । पुल निर्माण असारमा सम्पन्न हुने गरि काम गरिने र दुई वडाबासीलाई आवतजावत गर्न सहज पुग्ने गाउँपालिका अध्यक्ष हुमागाईले बताउनुभयो ।
हरेकवर्ष झैं बाढीले बगाएर मुत्यु भइरहेको अवस्थामा केहि तल पक्की पुल र केहि माथिल्लो क्षेत्रमा बेलीवृज पुलको निर्माण भइरहेको छ, ती पुल बन्दै गर्दा पनि यस भालुखोला झल्ला जोड्न पुल आवश्यक रहेकाले अटो, सुमो आउनजान सक्ने फलामे पुल निर्माण गरिन लागिएको हो ।
पुल निर्माणले आफुले उत्पादन गरेका तरकारी र दुधजन्य वस्तु बिक्रिमा सहज रुपमा भालुखोला पुगी विक्रिवितरण गरिन सकिने भए पछि दुई वडाबासीमा खुसी छाएको छ । वर्षातको समयमा झल्लामा उत्पादित तरकारी र विहानबेलुका दुध बेच्न खोला तरेर भालुखोला आउनुपर्ने बाध्यता रहेको छ ।
किसान मात्र नभई विद्यार्थी विद्यालय जान र गाउँपालिकाको कार्यालय जानआउन फलामेपुलले धेरै सहजता हुने स्थानीयहरु बताउछन् । करिब एक सय घरधुरी दैनिक उपभोग्य वस्तु खरिदबिक्रि गर्न, पठनपाठन र स्वास्थ्य सेवा लिन यस पुलले सहजता गराउने वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरेले बताउनुभयो ।