मकवानपुरमा कोरोना बिरुद्ध अग्रभागमा खटिने स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारलाई कोरोना

हेटौंडा । मकवानपुर जिल्लामा आम नागरिकलाई जस्तैगरी कोरोना भाइरसका बिरुद्धमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई पनि कोरोना भाइरस संक्रमण भएको छ ।
स्थानीय प्रशासनको निषेधाज्ञाका बिच पनि दिनरात नभनीकन अग्रभागमा रहेर खटिदै आएकाहरुलाई अहिले समस्यामा पारेको छ । मदनभण्डारी स्वाथ्य बिज्ञान प्रतिष्ठान अन्तरगतको हेटौंडा अस्पताल र हेटौंडाका बिभीन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी १५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भइसकेको र केहीले कोरोनालाई जितेर फेरी काममा फर्कनु भएको अस्पतालका डाक्टर सागर काफ्लेले वताउनुभयो ।
अस्पतालमा कार्यालय सहयोगि देखि डाक्टर सम्मलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमीतहरु आइसीयु र एचडीयुमा उपचार गराइरहँदा उनीहरुको प्रतक्ष सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण धेरै देखिएको छ । पीपीइ लगाउँदा पनि यो समस्या देखिएको हो ।
मकवानपुरमा निषेधाज्ञाकोपालना गराउने काममा होस या आम नागरिकलाई सुरक्षा दिने काममा खटिने प्रहरी पनि १५ जनालाई कोरोना संक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा प्रहरी र बिभीन्न प्रहरीचौकीमा गरी १५ जना प्रहरीलाई कोरोना संक्रमण भएको हो । बागमती प्रदेशका १० जिल्लामा मात्र ५० जना प्रहरीलाई कोरोना संक्रमण भएको र प्रहरीका उच्च अधिकृतहरु समेत दिनहुँ संक्रमित भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामाले वताउनुभयो ।
मकवानपुर जिल्लामा दोस्रो चरणको कोरोना संक्रमण फैलिएको समयमा १३ जना पत्रकारलाई पनि कोरोना संक्रमण भएको छ । ११ जना पत्रकार महासंघ मकवानपुरका सदस्य समेत रहेका र अरु २ जना पत्रकारलाई कोरोना संक्रमण भइसकेको छ । कोरोनाको पहिलो लहरमा प्रदेशका १० जिल्ला मध्यमा सबै भन्दा धेरै २२ जना पत्रकारलाई कोरोना संक्रमण भएको थियो । दोस्रो लहरमा पनि पत्रकारलाई कोरोनाले संक्रमण गराएको छ ।