मकवानपुरमा भूकम्पले ढलेका ११ हजार घर बने, अझै २२ हजार घर बन्न बाँकी
हेटौंडा / मकवानपुरमा २०७२ साल बैशाख १२ गतेको भूकम्पका कारण ढलेका घरहरु मध्यमा ११ हजार ६ सय ८५ वटा घरहरु मात्र निर्माण सम्पन्न भएका छन् । यस जिल्लामा पहिचान भएका पूर्ण क्षतीमा परेका लाभग्राही ३४ हजार २ सय ८९ परिवार रहेका छन् । तर, अधिकांश परिवारले घर निर्माण गरिसकेका छैनन् ।
भुकम्पछी घर ढलेका कारण धेरै परिवार अझैपनि भत्कीएको घर र टहरामा बस्दै आएका छन् । तर, बिभीन्न कारणबाट घर निर्माणको काम सक्न बाँकी रहेको हो । राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यनयन इकाई मकवानपुरको आयोजनामा चौथो गोरखा भूकम्प स्ममृति कार्यक्रमका अबसरमा आज हेटौंडामा यस बारेमा जानकारी गराएको हो ।
अझै पनि २२ हजार ६ सय ४ परिवारले घर निर्माण गर्न बाँकी रहेको छ । ढलेका घरहरु मध्यमा पनि २७ हजार ६ सय ५ परिवारले मात्र घर निर्माण गर्नका लागि संझौता गरेको राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यनयन इकाई मकवानपुरका इन्जिनियर ललित कुमार चौधरीले बताउनुभयो ।
भुकम्पपछी २६ हजार ९ सय परिवारले मात्र पहिलो किस्ता लिए
भूकम्पका कारण ढलेका घर परिवार मध्यमा २६ हजार ९ सय ३५ परिवारले मात्र पहिलो किस्ता लिएका छन् । अझैपनि ६ सय ७० परिवारले पहिलो किस्ता समेत प्राप्त गर्न बाँकी रहेको उहाँले बताउनुभयो । दोस्रो किस्ताकोलागि प्रमाणित गरिएका लाभग्राही २० हजार १ सय २६ परिवार छन् । तेस्रो किस्ताको लागि प्रमाणिकरण भएका लाभग्राही १५ हजार १ सय २८ परिवार र तेस्रो किस्ता रकम समेत प्राप्त गर्ने परिवार भने १४ हजार २ सय ९४ रहेका छन् ।
भूकम्पपछी १२ हजार ८ सय घर प्रबलीकरणमा
मकवानपुरमा भुकम्पले थोरै भत्कीएका र प्रबलिकरण गर्नुपर्ने घरहरु १२ हजार ८ सय ६८ वटा रहेका छन् । ती मध्यमा प्रबलीकरणको लागि संझौता भने ६ हजार २ सय ६२ परिवारले गरिसकेका छन् । प्रबलीकरणपछी पहिलो किस्ता लिनेहरु ६ हजार ८३ जना रहेका छन् । कप्पपछी पूर्ण रुपमा क्षतीमा नपरेका घरहरुलाई प्रबलीकरणमा राखेर काम गरिदै आएको इन्जिनियर ललित कुमार चौधरीले बताउनुभयो ।
मापदण्ड बिपरितका २ हजार ५ सय घरहरु पनि प्रमाणिकरण
मकवानपुरमा मापदण्ड बिपरित पनि भूकम्प पछी घरहरु निर्माण भएका छन् । गाउँ टोलमा पुन निर्माण प्राधिकरणका प्राबिधिकहरु पुगेपनि भुकम्प पीडितहरुले आफुखुसी घर निर्माण गरेपछी मापदण्ड बिपरित बनेका २ हजार ५ सय २० वटा घरहरु पनि प्रमाणिकरण गरिएको छ । कुनै भुकम्प पीडित परिवारकहाँ घर निर्माण हुने तर प्राबिधिक नगएपछी लाभग्राही आफैले घर निर्माण गरेपछी समस्या भएको छ । यस्ता घरहरु प्रमाणिकरण हुन बाँकी भने ८३ वटा रहेका छन् । मकवानपुरमा जोखिम क्षेत्रमा परेका भुकम्प पीडितहरु भने ६ सय २७ परिवार रहेका छन् ।
घर त बने, तर मेटियो पहिचान
काठमाण्डौ – रसुवा कालिका गाउँपालिका ३ का रामशरण कुइँकेल अहिले पनि घर बनाउने काममा नै व्यस्त हुनुहुन्छ । भूकम्पले उहाँका दुईवटा घर लडे । झण्डै तीन वर्ष अस्थायी आवासमा बिताउनुपर्यो ।
अहिले एउटा घर बनिसकेको छ । नयाँ घरमा सरेपछि अर्को घरको काम भैरहेको छ । उहाँजस्तै रसुवामा १२ हजार ५ सय प्रभावित छन् । तर अहिलेसम्म ९ हजार ६ सयले घर बनाएका छन् ।
रसुवाको गत्लाङ फेरियो
झण्डै तीनसय बस्ती रहेको रसुवाको गत्लाङमा भूकम्पपछि घर बने । तर परम्परागत काठका छाना भने फेरिए । अहिले टलक्क टल्कने जस्ताको छानाले गाउँ टल्किएको गत्लाङकी झोल्मो तामाङको गुनासो छ ।
भूकम्पअघि सबैजसो घरमा ढुङगा छिनेर बनाइएको गारो र काठको छाना थियो । तर भूकम्पपछिको तीन वर्षमै गाउँको पहिचान मेटिन थालेको स्थानीयबासिन्दाको गुनासो छ । यसको मुख्य कारण सरकारी मापदण्डले स्थानीयको परम्परागत शैली समेट्न सकेन ।
गोरखाको बारपाक फेरियो
२०७२ साल वैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दु गोरखामा पनि अहिले धमाधम घर बनिरहेका छन् । गोरखामा मात्रै ६५ हजार ६ सय लाभग्राही छन् । तीमध्ये ४४ हजार २ सयले घर बनाए । अरु पनि घर बनाउने क्रममै छन् । चार वर्ष अघिको भूकम्प सम्झँदै बारपाककी रोशनी घले भन्नुहुन्छ, ‘आँखै अगाडि खण्डहर बनेको बारपाक अहिले सग्लो बन्यो ।’
भूकम्पको केन्द्रबिन्दु बारपाकमा ७२ जनाले ज्यान गुमाए । झण्डै १४ सयमध्ये १३ सयभन्दा बढी घर भत्किएका थिए ।
बारपाकमा अहिले नयाँ घर बनेका छन् । तर ढुंगा माटोले बनेका र ढुंगाले छाएका एकैनासका घरको झुरुप्प बस्तीको मौलिकता पनि पुनर्निर्माणसँगै हराएको छ ।
गाउँ गाउँमा पक्की घर
रसुवाको गत्लाङ, गोरखाको बारपाक मात्रै होइन भूकम्प प्रभावित गाउँ गाउँमा अहिले नयाँ र् पक्की घर बनेका छन् । सिन्धुपाल्चोकमा ८८ हजार २ सय लाभग्राहीमध्ये ५९ हजार ५ सयले घर बनाएको तथ्याङक छ । नुवाकोटमा झण्डै ७५ हजारमध्ये ४६ हजारको संख्यामा घर बनिसकेका छन् ।
भूकम्प अति प्रभावित अर्को जिल्ला धादिङमा पनि भत्किएका ८३ हजारमध्ये झण्डै ४२ हजार आफ्नै घरभित्र बस्न थालिसके । दोलखामा ६९ हजार ६ सयमध्ये ४४ हजार ५ सय भूकम्प प्रभावितको घर बनिसकेको छ ।
रामेछापमा पनि नयाँ घर बनेका छन् । झण्डै ४८ हजार ८ सय लाभग्राहीमध्ये रामेछापमा ३० हजार ७ सयले घर बनाएका छन् । काभ्रेमा ८३ हजारमध्ये २६ हजार ७ सयले घर बनाए । सिन्धुलीमा झण्डै ३८ हजार भूकम्प प्रभावित लाभग्राही सूचीमा छन् । अहिलेसम्म १२ हजार ५ सयले घर बनाएको तथ्याङक छ ।
त्यस्तै मकवानपुरमा ३४ हजारमध्ये ११ हजार ६ सय र ओखलढुङगामा २१ हजारमध्ये १३ हजार ५ सय भूकम्प प्रभावितले घर बनाएका छन् । काठमाण्डौमा ४८ हजार ३ सय मध्ये ९ हजार ९ सय, ललितपुरमा २८ हजार ३ सयमध्ये ३ हजार ५ सय र भक्तपुरमा २८ हजार ३ सय मध्ये ७ हजार ३ सय घर बनेको प्राधिकरणको तथ्याङक छ ।
निजी आवासमा ८० प्रतिशत प्रगति : प्राधिकरण
भूकम्प र परकम्पले क्षति गरेका झण्डै ८ लाख २५ हजार घरमध्ये तीन लाख ८२ हजार घर बनेका र २ लाख ३० हजार बन्दै गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । सरकारको घर बनाउने प्रभावितलाई तीन लाख रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोग समेत गरेको छ ।
अघिल्लो वर्षदेखि जनप्रतिनिधिले समेत पुनर्निर्माणमा समन्वय गर्दै आएका छन् । तीन तहका सरकार पुनर्निर्माणमा जुटेपछि निजी आवासले गति लिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।