प्रदेश प्रहरीद्वारा ६७० थान अक्सिजन सिलिण्डर संकलन

उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा ब्यक्तीहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गरेर बिरामीको उपचारमा सहयोग गरिदै आएको छ ।
जनपत्र
३१ बैशाख २०७८, शुक्रबार ११:५४

हेटौंडा । प्रदेश प्रहरी कार्यालय हेटौंडा र मातहतका कार्यालयद्वारा हाल सम्म ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको छ । उद्योगधन्दा, वर्कसप, ग्यारेज, ग्रिल उद्योग, कवाडी उद्योग, हाईड्रोपावर, क्रसर उद्योग, विभिन्न पसल तथा ब्यक्तीहरु समेतबाट खाली तथा भरिएका अक्सिजन सिलिण्डरहरु संकलन गरेर बिरामीको उपचारमा सहयोग गरिदै आएको छ ।

बागमती प्रदेश प्रहरीले अक्सिजनको अभावमा आम नागरिकको ज्यान जोखिममा परिरहेको अबस्था प्रति संवेदनशीलभै अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरीएको हो । संकलित अक्सिजन सिलिण्डरहरुलाई सम्बन्धित जिल्लाको निर्णय अनुसार आवश्यकताको आधारमा बिभिन्न अस्पताल, आईसोलेसन सेन्टरहरुमा उपलब्ध गराउने कार्यलाई अघि बढाएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरिक्षक राज कुमार सिलवालले वताउनुभयो ।

बढ्दो कोभिड–१९ को संक्रमणसंगै पछिल्लो समयमा कोभिड–१९ बाट संक्रमितहरुलाई अक्सिजन दिनुपर्ने र अक्सिजन अभावमा मृत्युबरण गर्नु परेको घटनाहरु बढ्दै गईरहेकाले यो अभियान संचालन गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालहरुमा अक्सिजन सिलिण्डरको खपत समेत बढ्दै गईरहेकोले अस्पताल बाहेक अन्य विभिन्न प्रयोजनमा प्रयोग हुने सिलिण्डरहरुको संकलन गर्ने कार्य गरिएको हो ।

बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरुबाट संकलन गर्ने सन्दर्भमा हालसम्म १ सय २९ थान भरिएका र ५ सय ४१ थान खाली गरी जम्मा ६ सय ७० थान अक्सिजन सिलिण्डर संकलन गरिएको एसपी सिल्वालले वताउनुभयो । संकलित सिलिण्डरहरु सम्बन्धित जिल्लाहरुमै प्रयोग गर्न ब्यवस्थापन गरिएकोमा सहयोग गर्न सकिने केही सिलिण्डरहरु अत्यावश्यक महसुस गरिएका अन्यन्त्र स्थानहरुमा समेत उपलब्ध गराउने कार्य गरिएको छ । जस मध्ये कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र छाउनी काठमाण्डौलाई १० थान भरेको र ४० थान खाली सिलिण्डर उपलब्ध गराईएको छ ।

स्वर्गद्धारी अक्सिजन उद्योग चितवनलाई ५१ थान, त्यसैगरी हेटौंडा अस्पताल, धादिङ अस्पताल, रामेछाप अस्पताल, मुग्लिङ हाईवे अस्पताललाई गरी ३६ थान भरेको र ९० थान खाली अक्सिजन सिलिण्डर वितरण गर्ने कार्य गरिएको छ । प्रहरीले अक्सिजनका सिलिण्डरहरु संकलन गर्ने कार्यलाई अझै तिब्रताका साथ अघि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*