‘तत्काल उद्धार उडान सञ्चालन गरेर श्रमिकको उद्धार गर्नुपर्ने सूचना पाएका छैनौँ’

जनपत्र
२८ बैशाख २०७८, मंगलवार १८:५२

काठमाण्डौ – गएको वर्ष अन्तर्राष्ट्रिय उडान बन्द हुँदा चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार गर्नुपर्यो । अहिले पनि उडानहरू वैशाख मसान्तसम्मका लागि भनेर बन्द भएका छन् । उडानहरू बन्द भएकाले वैदेशिक रोजगारीमा जाने र आउने सबै अनिश्चयमा परेका छन् । नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण गर्न काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लाहरूमा निषेधाज्ञा छ । सडकहरू सुनसान छन् । टिकटको बन्दोबस्त गरिसकेकाहरु कहिले आकाश खुल्ला र गन्तव्यमा जान पाइएला भन्ने चिन्तामा छन् । हुन त अहिले छोटो समय तोकेर उडान बन्द भएका छन् । तर पोहोरको सम्झनाले देश फर्कने तयारीमा रहेकाहरूलाई अत्त्याएको छ । यसै सन्दर्भमा हामीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव एवं प्रवक्ता दीपक काफ्लेसित कुराकानी गरेका छौँ ।

 

कोरोना महामारीको चपेटामा परेका र टिकट काटिसकेपछि उडान बन्द भएर देश फर्कन नपाएका श्रमिकलाई घर फर्काउन के कस्तो प्रबन्ध गरिँदै छ ? 

कोरोना महामारी बढेको सन्दर्भमा श्रमिक क्षेत्र मात्र होइन समग्र क्षेत्रमा यसको प्रभाव र असर परेको छ । यो सन्दर्भमा स्वदेशमा श्रम गर्ने र रोजगारीका लागि विदेश जाने दाजुभाइ दिदीबहिनीहरू प्रभावित भएको अवस्था छ ।  र अब नेपाल सरकारले यो महिनाभरका लागि भनेर उडानहरू बन्द गरेको छ ।

यसरी उडानहरू बन्द हुँदा कोही नेपाली नागरिक विदेशमा समस्यामा पर्नुभएको या कुनै किसिमको सहयोग चाहिएको छ कि भनेर हामीले अहिले सम्बन्धित देशमा रहेका नेपाली दूतावास र नेपालमा रहेको सम्बन्धित देशका दूतावाससँग पनि समन्वय गरिरहेका छौँ । सूचना सङ्कलनको काम भइरहेको छ ।

वैदेशिक रोजगार बोर्ड छ, बोर्डले पनि सुचनाहरू संकलनको काम गरिरहेको छ भने मन्त्रालयले पनि प्राप्त सूचनाहरूलाई एकीकृत गरेका छ । अब यो अवस्था कतिसम्म जान्छ र कस्तो हुन्छ त्यही अनुसार नै हामीले हाम्रो योजनाहरूलाई पनि ‘रिभिजिट’ गर्नुपर्ने हुन्छ ।

त्यसकारण यो महिना भित्रै नै विदेशमा रहेका नेपालीहरू उद्धार गरेर ल्याइहाल्ने गरी कुनै कार्य योजना बनाएका छैनौँ । तर अब अप्ठेरो अवस्थामा परेका मानिसको सूचनाहरू लिएर सरकारको तर्फबाट गर्नुपर्ने काम रहेछन् भने हामी सम्बन्धित दूतावासहरूसँग पनि समन्वय गर्छौँ । एउटा नेपाली नागरिकको संरक्षण गर्नुपर्ने काममा सरकारको भूमिकाहरू मन्त्रालयले गरिरहेकै छ । अहिले चनाखो भएर अहिले सूचनाहरू सङ्कलन गरिरहेका छौँ ।

अहिले त वैशाख मसान्तसम्म मात्र भनिएको छ तर उडानहरू अझै लामो समयसम्म रोकियो भने श्रमिकहरूका समस्या त झन् बल्झेलान् ?

अरू सम्बन्धित मन्त्रालयहरू पनि छन् । पर्यटन मन्त्रालय छ । परराष्ट्र मन्त्रालयसँग पनि यसको चासो रहन्छ । श्रम मन्त्रालय पनि त्यसमा सरोकारवाला हुन्छौँ । तर अहिले नै श्रमिकहरूको उद्धार गर्नका लागि उद्धार उडान सञ्चालन गर्नुपर्नेखालको सूचनाहरू चाहिँ प्राप्त भएको छैन ।

जसले घर फर्कन हातमा टिकट लिइसक्नुभएको थियो अथवा श्रम स्वीकृति लिएर विदेश जाने तयारीमा हुनुहुन्थ्यो तर उडान बन्द हुँदा जान या स्वदेश फर्कन पाउनुभएन । उहाँहरूले अहिलेको अवस्थामा के गर्ने त ?

यो अवस्था नेपालको मात्र होइन । जस्तो विभिन्न देशहरूले त अहिले नेपालबाट हुने व्यवसायीक उडानमा नै प्रतिबन्ध लगाएको अवस्था छ । त्यसकारण अहिले उहाँहरू जहाँ जसको संरक्षणमा हुनुहुन्थ्यो त्यो देशले पनि अहिले संरक्षण प्रदान गरेर राखेको अवस्थाहरू छ ।

त्यहाँ संरक्षण पनि नपाएको यहाँ फर्केर आउन पनि नपाएको सूचनाहरू हामीलाई प्राप्त भइसकेको छैन । सम्बन्धित देशमा रहेको राजदूतावासमा कुनै सूचनाहरू आएको रहेछ भने त्यो आउने क्रमहरू होला । किनभने यो त समन्वय गर्ने काम हो । नेपालले मात्र रोकेको होइन ।

यूएई, कुवेत, मलेसिया जस्ता देशले पनि प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन् । यी देशमा पनि अप्ठेरो अवस्था छ । त्यस कारण अहिलेको अवस्थामा भनेको जो मानिस जहाँ छ कुनै न कुनै हिसाबमा सुरक्षित रहनका लागि सरकारले आह्वान गरेकै छ ।

तर पनि यदि कोही समस्यामा हुनुहुन्छ भनेदेखि मन्त्रालयको तर्फबाट गर्नुपर्ने भूमिकामा कुनै कमी नहुने गरी हामी व्यवस्थापन गर्छौँ । हामी दिनैपिच्छे त्यसमा छलफल पनि गरिरहेका छौँ । अब अहिलेको अवस्थामा चाहिँ आफू रहेको देशमा कुनै समस्याहरू छन् भने दूतावासमा राख्ने र समाधानका लागि दूतावासमार्फत नै पहल थाल्ने हो । श्रमिकहरूले दूतावासमा समस्या राखेपछि दूतावासमार्फत नै हो हामीलाई पनि सूचनाहरू प्राप्त हुने  र गर्नुपर्ने कामहरूको निष्कर्षमा पुग्नुपर्ने भएकाले श्रमिकहरूको समस्या स्वाभाविक रूपमा दूतावासको चासोको विषय हो ।

तर गत वर्षको सिकाइले पनि अब मन्त्रालयको तर्फबाट तयारी थाल्ने बेला भएन र ?

मैले अघि पनि भनिसके यो एक देशको मात्र कुरा होइन । हामीले एउटा योजना बनाएर मानिस तुरुन्त आइहाल्ने भन्ने हुँदैन । ती देशमा उडान गर्ने अवस्था छ कि छैन, त्यो देशको प्रोटोकलहरू के छ यी सबै कुराहरू हेरेर दुई देशबीच समन्वय भएर मात्र यो कामहरु गर्नुपर्ने भएकाले हाम्रो तर्फबाट तयारी छ । अब जुन देशबाट अप्ठेरो अवस्थामा रहेका नागरिकहरू ल्याउनु पर्ने छ त्यो देशमा रहेको नेपाली दूतावासले पनि समन्वयको काम गर्छ । त्यो अनुसार नै अघि बढ्छौँ ।

गत वर्ष जुन खालको समस्याहरू भयो त्यसको सिकाइले पनि अब चाहिँ समयमै उचित निर्णयहरु हुन्छन् भनेर श्रमिकहरू ढुक्क हुँदा हुन्छ ?

समस्याहरू दोहोरिन सक्छन् । किनभने गएको वर्षको समस्या अहिले आउँदैन भन्न सकिन्न । यो अवस्था बढेर गयो भने हामी झन् ठुलो समस्याको सामना गर्नु पर्ने हो कि भन्ने पनि छ । किनभने गत वर्ष यही समयमा यति सङ्ख्यामा कोरोनाको सङ्क्रमण बढेको अवस्था होइन ।

त्यसकारण हामीले संख्यात्मक विश्लेषण, तथ्य र तथ्याङ्कहरू हेर्दा खेरी अझैं हामीले कठिन अवस्थाहरू सामना गर्नुपर्छ कि भन्ने पनि देखाइराखेको छ नि त हाम्रो इण्डिकेटरहरुले । त्यस कारण हामीले परिस्थितिजन्य योजना बनाएर जानुपर्ने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*