अक्सिजन सिलिन्डर भर्न उद्योगमै धर्ना

जनपत्र
२८ बैशाख २०७८, मंगलवार १५:५५

दाङ – दाङमा देखिएको अक्सिजन अभाव यथावत् नै छ । अस्पतालमा अक्सिजनको अभावले बिरामी छटपटिने अवस्था आएपछि कोरोना सङ्क्रमित बिरामीका लागि आवश्यक अक्सिजन लिन उनीहरूका आफन्तले उद्योगमै धर्ना दिन थालेका छन् । सङ्क्रमितका लागि आवश्यक अक्सिजन अस्पतालमा अपुग भएपछि बिरामीका आफन्तले उद्योगमै धर्ना दिएर अक्सिजन ल्याउन थालेका हुन् ।

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा उपचाररत कोरोना सङ्क्रमित बिरामीका लागि अक्सिजन अभाव भएपछि घोराही उपमहानगरपालिका १८ का वडाध्यक्ष भरत अर्यालसहित दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नारायण भुसाललगायतका व्यक्तिहरूले सोमवार राति घोराही उपमहानगरपालिका ३ झिङनीमा रहेको दाङ अक्सिजन उद्योग प्रालीमै धर्ना दिनुपर्‍यो ।

झन्डै राति नाै बजेदेखि बिहान तीन बजेसम्म उद्योगमै धर्ना दिएर प्रतिष्ठानका बिरामीका लागि तत्काल आवश्यक पर्ने ३१ वटा अक्सिजन सिलिन्डर ल्याइएको घोराही उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष अर्यालले बताउनुभयो ।

‘प्रतिष्ठानका बिरामीका लागि अक्सिजन अभाव हुन थालेकाे र उद्योगले उत्पादित अक्सिजन केही व्यक्तिको दबाबमा बाहिर पठाउन थालेको थाहा पाएपछि हामीले उद्योगमै धर्ना दिएर अक्सिजन ल्याउनुपर्‍याे’, प्रवक्ता अर्यालले भन्नुभयो, ‘धर्ना दिएर अक्सिजन ल्याउँदा प्रतिष्ठानमा उपचाररत बिरामीको ज्यान बचेको छ ।’

यो एउटा उदाहरणमात्रै हो । अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि अहिले धेरै बिरामीका आफन्त अक्सिजनका लागि उद्योगमै पुग्ने गरेका छन् । कहिले त बिरामी नै नै अक्सिजन लिनका लागि उद्योगमै आउने गरेको दाङ अक्सिजन उद्योग प्रालीका सञ्चालक टोपाराम पौडेलले बताउनुभयो ।

‘उद्योग सञ्चालनमा आएपछि हामीले नियमित रूपमा अक्सिजन उत्पादन गरिरहेका छौँ । तर जिल्लाबाहिरबाट अक्सिजन आउन कम भएको छ’, सञ्चालक पौडेलले भन्नुभयो, ‘जसका कारण अस्पतालमा अक्सिजनको अभाव भएको छ, हामीलाई पुर्‍याउनै धौ धौ छ ।’ अस्पतालमा अक्सिजनको अभाव भएपछि उद्योगलाई चाप परेको समेत उहाँले बताउनुभयो । पाैडेलले कोरोना सङ्क्रमितको उपचार भइरहेकाे अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिने गरी उत्पादन भइरहेको समेत बताउनुभयो ।

यसैबीच निर्माण व्यवसायी महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र रानाले व्यक्तिगत खर्चमा २५ वटा अक्सिजनसहितको सिलिन्डर दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य प्रतिष्ठानलाई सहयोग गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*