उपप्रधानमन्त्री पोखरेलको ‘अन द स्पट एक्शन’

जनपत्र
२८ बैशाख २०७८, मंगलवार १५:४४

काठमाण्डौ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले मङ्गलवार (आज) काठमाण्डाैकाे बसुन्धारामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’ को निरीक्षण गर्नुभएको छ ।

निरीक्षणकै क्रममा उहाँले तत्कालै काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डाक्टर शङ्करदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन भन्नुभयो । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसै हप्तापछि नेपाली सेनाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

तत्काल ८८ शय्या (बेड) को अक्सिजन थेरापी सुविधासहित सञ्चालन हुन लागेको यो आइसोलेशन केन्द्रका लागि राधा स्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकताअनुसार दुई सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइशोलेशन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाण्डौ महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइशोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

काठमाण्डौमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना सङ्क्रमितहरुको उपचार गर्ने सोच बनाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उहाँले सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिस्ट्रार महासेनानी डा. सुमनराज डंगोलले आइसोलेशन केन्द्रको बारेमा जानकारी गराउनुभएको थियो ।

निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतको पनि सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*