राजीनामाको धम्कीबाहेक के विषय छन् ओलीलाई माधव नेपालले लेखेको ६ बुँदे प्रस्तावमा?

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान ९ बजे सम्मका लागि अल्टिमेटम दिएका छन्। उक्त समयसम्म आफ्ना माग पूरा नभए सामूहिक राजीनामा गर्ने नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी दिए। ओलीलाई २०७५ जेठ २ गते अघि एमाले माओवादी एकता हुनुपर्वको अवस्थामा फर्कन नेपाल समूहका सांसदहरुको आइतवार सिंहदरबारमा बसेको बैठकले आग्रह गरेको छ।
‘ओलीले गम्भीर लाञ्छना लगाउने काम गर्नुभयो’, भट्टराईले भने, ‘एउटा समूहलाई किनारा लगाउने र धम्काउने काम भए भने बैशाख २७ गते जे निर्णय गर्नुपर्ने हो गर्छौ।’ नेपाल समूहले आइतवार नै सामूहिक राजीनामाको तयारी गरेपनि अन्तिम समयमा रोकिएको हो। ओली पक्षबाट संसदीय दलका उपनेता सुवाष नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेलसहितको टोलीले सिंहदरबारमा वार्ता गरेपछि राजीनामा रोकेको बताइन्छ। यद्यपि हिजै प्रधानमन्त्री ओलीले फ्लोरक्रस नगर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका थिए। ओलीले नेपाल पक्षको प्रयासलाई हानिकारक प्रयास भएको आरोप समेत लगाएका थिए।
‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फलोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन्,’ विज्ञप्ति जारी गर्दै ओलीले भनेका थिए, ‘कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन्। यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन्।’ प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पक्षले ६ बुँदे प्रस्ताव ओलीसमक्ष राख्दै आज ९ बजेसम्मका लागि अल्टिमेटम दिएका हुन्।
के छ ६ बुँदेमा ?
पार्टीको एकता कायम राख्न आग्रह गर्दै लेखिएको ६ बुँदेमा नेपालले २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनु पूर्व फर्किनुपर्नेलगायतका विषय समेटेका छन्। १० सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनु पूर्वको अर्थात जेष्ठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने।
२० नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्ने।
३० पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने।
४० पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एक अर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने।
५० सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरि हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने।
६० उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने। यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने। पहिलोपोष्टबाट