सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको सरकारको दाबी

जनपत्र
२५ बैशाख २०७८, शनिबार १२:५०

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर अहिले भइरहेको सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोरोना सङ्क्रमण देखिएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले प्रचार गरिएजस्तो सगरमाथामा कुनै जोखिम नरहेको स्पष्ट पारेको हो । नेपालका केही तथा विदेशी सञ्चारमाध्यमले सगरमाथा आधार शिविरमा कोरोना फैलिएको भन्दै पछिल्ला दिनमा समाचार प्रकाशन/प्रसारण गरेका थिए। वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।

ती सबै आरोही समूहले सगरमाथासहितका पर्वतारोहण सम्बन्धी क्रियाकलाप सम्भव भएसम्म स्वास्थ्य मापदण्डहरु पालना गर्दै आरोहण अभ्यास गरिरहेको मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताउनुभयो ।

आधिकारिक निकायबाट कुनै जानकारी प्राप्त नभएको अवस्थामा सरकारी निकायसँग समन्वय र सम्पर्क नगरि भ्रमपूर्ण र पर्वतारोही, पर्वतारोहीका परिवारमा त्रास फैलाउने गरी अपुष्ट सूचना प्रकाशन नगर्न तथा आधिकारिक निकायबाट पुष्टि भएका सूचना मात्रै प्रकाशित गर्न मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध पनि गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*