सुन चोरीपैठारी गरी २ अर्ब ५२ करोड ७७ लाख राजस्व छल्नेविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले २ अर्ब ५२ करोड ७७ लाख ९६ हजार ८८ रुपैयाँ राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । यसअघि धेरैपटक सुन चोरी पैठारी गरी राजस्व चुहावट गरेको अनुसन्धानबाट पुष्टि भएपछि उनीहरुविरुद्ध उच्च अदालत हेटौंडामा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभागले शुक्रबार विज्ञप्ति जारी गरेर यस्तो जानकारी गराएको हो । विभागका अनुसार जिल्ला प्रहरी कार्यालय हेटौंडाको प्रहरी टोलीले चेकजाँचको क्रममा रातोमाटे चेकपोस्टमा बिना बिल बिजक बसमा लैजाँदै गरेको ६ केजी २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएकोमा अनुसन्धान गर्दा राजस्व छली गरेको पाइएपछि गत १२ वैशाखमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको बताएको छ । विभागले अनुसन्धानका क्रममा भारत कर्नाटक राज्य बस्ने अब्दुल मजिद अनेकल, रोशन पटेल भनिने लुखमनुअल हाकिम र एसएम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका सञ्चालक राजेश गुरुङले पटकपटक सुन चोरी पैठारी गरेको पुष्टि भएको छ । उनीहरू विरुद्ध २ अर्ब ४३ करोड ८६ लाख ८० हजार ३ सय १६ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।
यसैगरी, यस इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालिका सञ्चालक राजेश गुरुङविरुद्ध ४ करोड ३० लाख ७९ हजार ४ सय ३२ रुपैयाँ, भैरव स्टोर्सका प्रोप्राइटर सञ्जिव श्रेष्ठविरुद्ध ४ करोड ५६ लाख ६ हजार ८ सय २७ रुपैयाँ र काठमाडौं महानगरपालिका–२ बस्ने शंकर घिमिरेविरुद्ध ४ लाख २९ हजार ५ सय १३ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
उनीहरूविरुद्ध विभागले राजस्व चुहावट ‘अनुसन्धान तथा नियन्त्रण’ ऐन २०५२ को दफा ४ को उपदफा ‘क’ र ‘ग’ बमोजिम बिगो रकम असुल गरी सो को शतप्रतिशत जरिमाना र कैद सजायको माग दाबीसहित मुद्दा दायर गरिएको जनाएको छ ।