पश्चिम नवलपरासीमा किन यति ठूलो संख्यामा मरे गिद्ध?

जनपत्र
२४ बैशाख २०७८, शुक्रबार ०६:५५

गत ८ वैशाखमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ स्थित पाल्ही बहुमुखी क्याम्पस नजिकै ६९ वटा गिद्ध मरेका भेटिए। अति संकटापन्न प्रजातिसहितका गिद्ध एकैसाथ यति ठूलो संख्यामा मरेको घटनाले संरक्षणकर्मीहरूलाई झस्कायो।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ ९आईयूसीएन०ले अति संकटापन्न सूचीमा राखेका दुई प्रजाति सानो खैरो र डंगर गिद्धसहित चार प्रजातिका गिद्ध कुकुरको सिनो खाएर मरेका थिए। राष्ट्रिय पक्षी संरक्षण संघका कार्यक्रम संयोजक अंकितविलास जोशीका अनुसार, मारेर फालिएका कुकुरको सिनो खाएर ३५ वटा डंगर, ३१ वटा हिमाली, एउटा सानो खैरो र दुई वटा राज गिद्ध मरेका हुन्।

गिद्ध किन मरे भन्नेबारे अनुसन्धान हुन बाँकी नै छ। मृत गिद्धहरूको नमूना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। प्रयोगशालाबाट रिपोर्ट प्राप्त भएपछि गिद्ध मर्नुको कारण खुल्ने डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताले बताए। प्रारम्भिक अनुमानमा भुस्याहा कुकुर नियन्त्रणका लागि विष हालेर मारिएका कुकुर खुला स्थानमा फालिएको र त्यही सिनो खाएर गिद्ध मरेको बताइएको छ।

“प्रयोगशालाबाट रिपोर्ट प्राप्त भएपछि कुकुर मार्न कुन विषादी प्रयोग गरिएको थियो र त्यो कति कडा थियो भन्ने सबै खुल्छ,” गुप्ताले भने, “रिपोर्ट आएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौं र आगामी दिनमा यस्तो घटना हुन नदिन अघि बढ्छौं।” मरेका दुई प्रजातिका गिद्धमध्ये अति संकटापन्न सूचीमा सूचीकृत सानो खैरो गिद्धको संख्या नेपालमा ५० देखि ७५ वटा रहेको अनुमान छ। त्यस्तै, डंगर गिद्ध २ हजारभन्दा कम रहेको राष्ट्रिय पक्षी संरक्षण संघका कार्यक्रम संयोजक जोशी बताउँछन्। उनका भनाइमा, आगामी १० वर्षमा ती गिद्ध ५० प्रतिशत लोप हुने अनुमान छ। “सानो संख्यामा रहेका गिद्धहरू एकै स्थानमा त्यति धेरै संख्यामा मर्नु ठूलो क्षति हो,” जोशी भन्छन्। विष प्रयोग गरेर कसले कुकुर मारेर फालेको हो भन्ने पहिचान हुनसकेको छैन।

नेपालमा गिद्ध संरक्षणको प्रयास
नेपालमा गिद्ध संरक्षणको शुरूआत सन् २००९ मा भएको हो। सरकारी प्रयासमा चितवनको कसरामा गिद्ध प्रजनन केन्द्र सञ्चालन गरिएको छ। जहाँ कोरलिएका र हुर्काइएका गिद्धलाई प्राकृतिक बासस्थानमा छोड्ने गरिन्छ। सरकारले गिद्ध संरक्षणका लागि पहिलो कार्ययोजना सन् २००९ देखि २०१३ र दोस्रो कार्ययोजना २०१५ देखि २०१९ सम्म लागू गरेको थियो। उक्त संरक्षण प्रयासबाट गिद्धको संख्या बढ्न थालेको पक्षीविज्ञ कृष्ण भुसाल बताउँछन्।

गिद्धको संख्या वृद्धि गर्न समुदायस्तरबाट समेत पहल भएका छन्। जस्तो, नवलपरासी, दाङ र रुपन्देही लगायत स्थानमा गिद्धको आहाराका लागि ‘गिद्ध रेस्टुरेन्ट’ सञ्चालन गरिएको छ, जहाँ वृद्ध पशुहरूलाई लगेर राखिन्छ। प्राकृतिक रूपमै ती पशुको मृत्यु भएपछि गिद्धलाई खुवाइन्छ।

गिद्धको बासस्थान कास्की, लमजुङ, पाल्पा, रुपन्देही, परासी, नवलपुर, अर्घाखाँची, कपिलवस्तु, दाङ, रोल्पा, प्यूठान, सल्यान, अछाम, जाजरकोट, कैलाली र कञ्चनपुर लगायत जिल्लाहरू हुन्। पक्षीविज्ञ भुसाल गिद्ध संरक्षणका लागि नेपालको एक्लो प्रयासले मात्र नहुने बताउँछन्। “गिद्ध एक ठाउँबाट उडेर टाढासम्म पुग्ने हुनाले संरक्षणका लागि अन्तरदेशीय प्रयासले मात्र सम्भव हुन्छ,” उनी भन्छन्।

पर्यावरणमा योगदान
गिद्धले पर्यावरणमा विशिष्ट योगदान गर्छ। मरेका पशुहरूको सिनो खाएर प्रकृतिलाई स्वच्छ राख्न मद्दत गर्ने भएकाले यसलाई प्रकृतिको कुचीकार समेत भनिन्छ। अध्ययन अनुसार, एउटा गिद्धले सिनो सफाइमा करीब ११ हजार अमेरिकी डलर मूल्य बराबरको योगदान दिन्छ। त्यसकारण गिद्धलाई पर्यावरणीय चक्र र खाद्य शृंखला सन्तुलनको संवाहक मानिन्छ।

नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये चार प्रजातिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ ९आईयूसीएन०ले ‘अति संकटापन्न’ सूचीमा राखेको छ। जसमा लामो ठुँडे गिद्ध, सुन गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्ध पर्छन्। साथै, हिमाली गिद्ध, हाडफोर गिद्ध, राज गिद्ध पनि संकटको नजिक रहेका मानिन्छन्।

सन् १९८० को दशकमा नेपालमा १६ लाखसम्म गिद्ध पाइएको तथ्यांक छ। तर, अहिले २० हजारभन्दा कम रहेको अनुमान गरिन्छ। नेपालमा मात्र होइन, दक्षिण एसियाका भारत, पाकिस्तानमा समेत गिद्धको संख्या सन् १९९० को दशकदेखि घट्न थालेको हो। नेपालमा सन् २००२ देखि घटिरहेको डंगर गिद्धको संख्या २०१२ पछि बढ्न थालेको हो। डंगर गिद्धको संख्या दुई हजार जति पुगेको अनुमान छ।

सन् १९८० को दशकमा नेपालमा १६ लाखसम्म गिद्ध पाइएको तथ्यांक छ। तर, अहिले २० हजारभन्दा कम रहेको पक्षीविज्ञ भुसाल बताउँछन्। नेपालमा मात्र होइन, दक्षिण एसियाका भारत, पाकिस्तानमा समेत गिद्धको संख्या सन् १९९० को दशकदेखि घट्न थालेको हो।

नेपाल लगायत दक्षिण एसियामै गिद्धको संख्यामा अप्रत्याशित ह्रास आएपछि सन् २००३ मा वैज्ञानिकहरूले गिद्धको संख्यामा कमी आउनुको कारण पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधि भएको पत्ता लगाएका थिए। त्यसपछि नेपाल सरकारले २३ जेठ २०६३ मा उक्त औषधिमा प्रतिबन्ध लगाएको थियो।

डाइक्लोफेनेक घरपालुवा पशुलाई दुखेको र सुन्निएको निको पार्न प्रयोग गरिन्छ। डाइक्लोफेनेकले उपचार गरिएका पशु उपचारकै क्रममा वा सात दिनभित्र मरेमा औषधिको विषाक्तपन पशुको सिनो खाने गिद्धको शरीरमा सर्छ। यसले गिद्धको रगतमा यूरिक एसिडको मात्रा बढाउँछ र मिर्गौलाले काम नगरेपछि गिद्ध मर्छ।

गिद्धहरूले समूहमा एउटै सिनो खाने हुँदा डाइक्लोफेनेक प्रभावित एउटै सिनोबाट ठूलो संख्यामा गिद्धहरू मरेको पाइएको थियो। ३० एमएलको एक भायल डाइक्लोफेनेक प्रयोग गरिएका एउटै सिनोबाट ३५० देखि ८०० गिद्ध मरेको पाइएको थियो। पछिल्लो समय गिद्धको संख्या केही हदसम्म बढ्नुको कारण डाइक्लोफेनेक औषधिमाथिको प्रतिबन्ध, बासस्थानमा सुधार, आहारको सहज उपलब्धता हो।

अहिले गिद्धको नियमित अनुगमनका लागि ढाडमा जडान गरिएका स्याटेलाइट उपकरणमार्फत जानकारी संकलन गर्ने गरिन्छ। उक्त जानकारीमा गिद्धले २५ हजार वर्गकिलोमिटर क्षेत्रमा विचरण गरेको पाइएको छ। नवलपरासीबाट गिद्धहरू भारत–पाकिस्तानको सीमा जम्मुु काश्मीरसम्म पुगेको रेकर्ड भएको छ।

नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ६ प्रजातिले मात्र गुँड बनाई बच्चा कोरल्छन्। डंगर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्धले रूखमा गुँड बनाउँछन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुँड बनाई बच्चा कोरल्छन्। हिमालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*