इन्द्रसरोवर गाउँपालिका सूचना तथा सेवा प्रवाहमा प्रविधिमय बन्दै

मञ्जरी बलामी
२२ बैशाख २०७८, बुधबार ०७:३२

इन्द्रसरोवर । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आफ्नो सूूचना तथा सेवा प्रवाहलाई प्रविधिमय बनाउँदै लगेको छ । गाउँपालिका अन्तर्गत सञ्चालन हुने दैनिक कामकाज, आर्थिक कारोवार लगायतका सेवा प्रवाहहरुलाई प्रविधिमय बनाई सेवा तथा अभिलेख व्यबस्थापनलाई चुस्त, दुरुस्त एवं पारदर्शी बनाउने उदेश्यले गाउँपालिकाले प्रविधिलाई मुख्य आधार बनाएको छ ।

इन्द्रसरोवरले गाउँपालिका क्षेत्रभित्रका ५ वटै वडा कार्यालय, ५ वटै स्वास्थ्य चौकी, ३ वटै प्रहरी चौकी, ६ वटै माध्यमिक विद्यालय र गाउँपालिकाको कार्यालयमा समेतमा अप्टिकल फाइवर सहित द्रुत गतिको इन्टरनेट बिस्तार गर्ने कार्य सम्पन्न गरीसकेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत राजन खतिवडाले जानकारी दिए ।

यसरी स्थानीय तहको महत्वपूर्ण क्षेत्रहरुमा अप्टिकल फाइवर सहित द्रुत गतिको इन्टरनेट बिस्तार गर्न सफल हुनेमा सम्भवत् मकवानपुरकै स्थानीय तहहरु मध्ये इन्द्रसरोवर पहिलो रहेको समेत उहाँको भनाई रहेको छ । सुचना तथा जानकारीहरुमा सरोकारवालाहरुको पहुँच सहज बनाउनको लागि विधुतीय सुशासन सहितको स्मार्ट स्थानीय निकायको परिकल्पनालाई साकार बनाउन अत्यावश्यक भएकोले कार्यालयमा उपलब्ध विधुतिय उपकरणहरु तथा समाजमा अत्याधिक प्रयोगमा रहेको विभिन्न उपयोगी सामाजिक सञ्जालहरुको अधिकतम सदुपयोग गर्ने र सुचना प्रबिधि सम्बन्धि आधारभूत ज्ञान दिई सूचना प्रविधि मैत्री गाउँपालिका तथा सु–सुचित जनसमुदाय निर्माणको लागि गाउँपालिकाकाले उदाहरणीय काम गरेको गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए ।

गाउँपालिकाले वि।सं। २०७७ साल मंसिरबाट सुरु गरेको इन्टरनेट बिस्तारको कार्य २०७७ माघमा नै सम्पन्न गरेको हो । सूचना, सञ्चार एवम् प्रविधिको क्षेत्रमा भएको यूगान्तकारी परिवर्तन संगै एक्काईसौं शताब्दीको यात्रामा लागेको वर्तमान समयले आजको यूगलाई विज्ञान र प्रविधिको यूग हो भन्ने कुरा पुष्टि गरिसक्दा इन्द्रसरोवरको यस प्रयासले समग्र गाउँपालिका वासीलाई नै फाइदा पुुग्ने देखिन्छ ।

प्रविधिमय बन्दा इन्द्रसरोवर वासीलाई सेवा प्रवाह र सूचना पहुँचमा सहजता

इन्द्रसरोवर गाउँपालिकाले प्रविधिलाई अंगाल्दै जाँदा इन्द्रसरोवर वासीलाई सेवा प्रवाह र सूचनाको पहुँचमा निक्कै नै सहजता भएको छ । करिब १७ हजार जनसंख्या रहेको इन्द्रसरोवरमा इन्टरनेट सेवा विस्तारले सरकारी तथा सार्वजनिक संस्थाहरुबाट सञ्चालन हुने सेवा प्रवाह नागरिकलाई सहजता पुगेको छ ।

वर्तमान समयमा मानवको दैनिक जिवन एवम् विकासको लागि अपरिहार्य पुर्वाधार र समग्र विकास व्यवस्थापनको क्षेत्र प्रविधिमा निर्भर छ । हरेक कार्यको निम्ति आधारभूत औजारको रुपमा रहेको सूचना र सञ्चार प्रविधिले मुलुकको चौतर्फी विकासमा विशिष्ट महत्व राख्दछ । इन्द्रसरोवरमा सूचना प्रविधिहरूको सहयोगले ईमेलहरू, आवाज र भिडियो कलहरू छिटो, सस्तो र अधिक कुशल भएको छ भने विभिन्न देशहरूबाट खरीद सजिलो र अधिक सुविधाजनक बनाउँदै, कुनै पनि समय, जहाँसुकै व्यापार सुरु गर्न सकिने भएको छ ।

कार्यालयका चिठी, प्रतिवेदन, फारम, गतिविधि, योजना, वैठकका निर्णय लगायत विविध विषयहरुलाई कम्प्यूटरमा प्रविष्ट गरि मागेको समयमा सूचना दिने व्यवस्था गरिएको छ । साथै प्रत्येक कोठामा डेष्कटप र प्रिन्टरको व्यवस्था गरिएको जनाइएको छ जसले गर्दा सेवाग्राहीले मागेको सूचनाहरु तुरुन्त दिन र अध्यावधिक गरि सूचना दिन सहज भएको छ ।

गाउँपालिकाले कागजी प्रयोगलाई कम गर्न प्रोत्साहन दिदै वेभसाईट, एस।एम।एस, कम्प्यूटर, पेनड्राइभ, प्रोटेवल हार्डडिस्क, ल्यावटेव लगायत मोवाईल एप्सको प्रयोगमा वृद्धि भएको छ । फाईलको ढड्डालाई विस्तारै कम प्रयोगमा ल्याउने कार्यमा प्रोत्साहन दिई लामो समयसम्म सुरक्षित गरि राख्न विभिन्न प्रविधिको प्रयोग गर्दै आएको छ ।

इन्द्रसरोवरमा हाल सम्म करिब २५० घरधुरीले इन्टरनेट जडान गरिसकेका छन् । नागरिकले घरमै बसीबसी कार्यालयका सूचनाहरु गाउँपालिकाको इमेल, वेभपेज, मोवाईल एप्स, सामाजिक सञ्जाल आदिवाट प्राप्त गर्न सक्छन् भने गाउँपालिकाको गतिविधिहरु यिनै माध्यमवाट घरघरमा वसेर हेर्न र देख्न सक्ने भएको छ ।

आधुनिक व्यवस्थापनको युगमा सूचनाको अत्यन्त महत्व भएकोले सूचना जति प्रभावकारी, विश्वसनीय, भरपर्दो र शुद्ध हुन सक्छ त्यत्तिकै संगठनको निर्णय क्षमता नेतृत्व र उत्पादकत्वमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*