सरकार र राप्रपाबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ र सरकारबीचको वार्ता बिना निस्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित कानून मन्त्रालयमा मंगलबार दिउँसो सुरु भएको औपचारिक वार्ता बिना निस्कर्ष टुंगिएको हो ।
‘राप्रपा’ को हिन्दुराज्य र राजतन्त्र पुनःस्थापनको मागलाई सरकारले सम्बोधन नगर्ने र राप्रपाका अन्य माग सकारात्मक रहेको कानूनमन्त्री भानुभक्त ढकालले बताए । त्यस्तै राप्रपाको तर्फबाट वार्ता समितिको संयोजक रहेका दीपक बोहोराले पहिलो वार्ता उत्साहजनक रहेको र वार्ता बिना निस्कर्ष टुंगिएको भन्दापनि सैद्धान्तिक विषयमा पुन छलफल गर्ने सहमति गर्दै आजको वार्ता सकिएको बताए । ‘आज हामीले २२ सूत्रीय मागका विषयमा कुरा राख्यौं, सरकारले पनि तपाईहरुले उठाउनुभएको धेरै कुरामामा विचार गर्छौं भनेको छ, धर्म निरपेक्षता खारेजी, गोलमेच सम्मेलनजस्ता नीतिगत विषयमा पुनः छलफल गर्ने सहमति भएको छ’ वार्तापछि बोहराले भने ।
राप्रपाले वार्ताका लागि वरिष्ठ नेता दीपक बोहोराको संयोजकत्वमा समिति तीन सदस्यीय वार्ता समिति बनाएको थियो । आइतबार सरकारले वार्ताको लागि औपचारिक पत्र पठाएपछि सोमबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले यो समिति बनाएको हो।