आन्तरिक मामिलामन्त्री जमरकट्टेल पार्टी जिल्ला सचिवमा घटुवा

प्रदेश नम्बर ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेल धादिङ जिल्लाको जिल्ला सचिबमा घटुवा हुनु भएको छ । नेकपा पार्टीले आज प्रज्ञाभवनमा सार्बजनिक गरेको पार्टीका जिल्ला अध्यक्ष र सचिबको लिष्टमा उहाँ सचिबमा घटुवा हुनु भएको हो । यसअघि उहाँलाई पार्टीले केन्द्रीय सदस्य बनाएको थियो । पार्टीले सचिबमा घटुवा गरेपछी आफ्ना नेता र कार्यकर्ता माझ उहाँले असन्तुष्टी ब्यक्त गर्नुभएको पार्टीका एक नेताले बताएका छन् ।
उहाँसंगै सोमवार अपरान्ह सार्वजनिक भएको जिल्ला अध्यक्ष र सचिवहरुको लिष्टमा आठ केन्द्रीय सदस्य जिल्ला सचिव बनाइएका छन् । उनीहरुले अब पार्टी बरियतामा आफूभन्दा जुनियरको मातहत रहेर काम गर्नुपर्नेछ । बरियतामा केन्द्रीय सदस्यभन्दा तल जिल्ला अध्यक्ष रहन्छन् ।
सार्वजनिक गरिएको सुची अनुसार केन्द्रीय सदस्यको मातहतमा सचिव हुने मोरङका गोपी अछामीमात्र छन् । मोरङमा तत्कालिन एमालेका अध्यक्ष समेत रहेका र हाल केन्द्रीय सदस्य बढुवा भएका बिनोद ढकाल अध्यक्ष बनेका छन् ।
केन्द्रीय सदस्यबाट सचिवमा घटुवा हुनेहरुमा डाचाराज वाग्ले सर्लाही, युवराज भट्टराई रौतहट, दावा तामाङ सिन्धुपाल्चोक, श्रवण यादव धनुषा, हिमाल शर्मा काठमाडौं, शालिकराम जमरकट्टेल धादिङ र दधिराम न्यौपाने रुपन्देही छन् ।
नेकपाका कार्यकर्ताले केन्द्रीय कमिटी सदस्य तथा प्रदेश मन्त्री तहका नेताहरुलाई जिल्ला कमिटी सचिव बनाइएकोमा आश्चर्य व्यक्त गरेका छन् । यसैबीच केन्द्रीय सचिवालयका केही नेताले जिल्ला सचिवको साटो सहअध्यक्ष बनाउन प्रस्ताव गरेका छन् ।
पूर्व माओवादीबाट जिल्ला अध्यक्ष बनाइएका धेरै नेता केन्द्रीय कमिटी सदस्य भए पनि पूर्व एमालेबाट जिल्ला अध्यक्ष बन्नेमा विनोद ढकाल र कृष्ण राईमात्र केन्द्रीय सदस्य हुन् । उनीहरु तत्कालिन जिल्ला अध्यक्ष भएकाले निरन्तता पाएका हुन् ।