कोरोना संक्रमणको चेन तोड्न व्यवस्थित लकडाउन गर्न संसदीय समितिको सुझाव

जनपत्र
१४ बैशाख २०७८, मंगलवार १९:१४

काठमाडौँ — कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिइरहेको भन्दै प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई २१ बुँदे निर्देशन तथा सुझाव दिएको छ । संसदीय समितिले कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने क्रम (चेन) तोड्नका लागि व्यवस्थित लकडाउन गर्नका लागि सरकारलाई सुझाव दिएको हो ।

शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकपछि २१ बुँदे निर्देशन तथा सुझाव पारित भएको छ । जसमा लेखिएको छ, ‘कोरोना संक्रमणलाई रोक्न चेन ब्रेक आवश्यक भएकोले व्यवस्थित लकडाउन गर्नुपर्ने ।’

सरकारले बिहीबारदेखि लागु हुनेगरी पहाडी क्षेत्रका जिल्लामा २०० भन्दा बढी र सहरी क्षेत्रका जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेमा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो । संसदीय समितिले भने व्यवस्थित रूपमा लकडाउन गर्नका लागि सुझाव दिएको छ ।

त्यस्तै, संसदीय समितिले कोरोना संक्रमणको चेन तोड्नका लागि गरिने निषेधाज्ञा र लकडाउनका क्रममा कोरोना संक्रमित र अन्य रोगका बिरामीलाई स्वास्थ्य परामर्श दिनका लागि टेलिमेडिसिनको व्यवस्था गर्न पनि सुझाव दिएको छ ।

सभापति जयपुरी घर्तीले समितिले सीमा क्षेत्रमा हेल्थ डेस्क र सूचना डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको बताइन् । ‘सिमानालगायत बढी संक्रमित भएका ठाउँहरूमा हेल्थ डेस्क र सूचना डेस्क राखी सोको प्रभावकारी नियमन गर्नुपर्ने,’ समितिले सरकारलाई दिएका निर्देशन तथा सुझाव सुनाउँदै उनले भनिन्, ‘संघ, प्रदेश र स्थानीय तहका बीचमा समन्वय गरी आवश्यक कामकारबाही अगाडि बढाउने ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*